• ११ पुस २०८१, बिहिबार

भारतीय गायक सोनु निगम काठमाडौँमा

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोनु निगम । तस्बिरः सागर बस्नेत

काठमाडौँ, पुस १० गते।  भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो। 

उहाँ एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आइपुग्नुभएको हो। उहाँको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए। नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउनुभएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो।

उहाँले भन्नुभयो, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु। नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु।”

आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताउनुभयो।

कार्यक्रमका लागि न्युनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शुल्क राखिएको छ। गायक निगमले स्वर दिनुभएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन्।  रासस