गुल्मी समाचारदाता
गुल्मी, पुस १० गते । जिल्ला समन्वय समिति गुल्मीले सन्तुलित विकासका लागि समन्वय र सहजीकरण गर्ने भएको छ । आठौं जिल्ला सभामा समन्वय प्रमुख द्रोण खत्रीले गुल्मीको सन्तुलित विकासका लागि विभिन्न अभियानमुखी कार्यक्रमसहित सहयोग, समन्वय र सहजीकरण गर्ने बताउनुभयो ।
उहाँले गुल्मीमा हुने प्राकृतिक प्रकोप न्यूनीकरण उद्धार तथा राहत महामारीजन्य प्रकोप नियन्त्रण, मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना, सुरक्षीत आवास कार्यक्रम, कृषि तथा पशु सेवा पकेट क्षेत्र विस्तार तथा रैथाने प्रजाति संरक्षण कार्यक्रममा समन्वय र सहजीकरण गर्ने बताउनुभयो ।
आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्दै समन्वय प्रमुख खत्रीले दीगो विकासका लक्ष्यहरूको स्थानीयकरण, अन्तरपालिका भौतिक पूर्वधार, शैक्षिक, पर्यटन लगायत साझा सवालमा लगानी, अन्तरपालिका कृषि तथा पशु उपज सङ्कलन भण्डारण तथा हाट बजार व्यवस्थापन, अन्तरपालिका फोहाेरमैला व्यवस्थापन तथा उद्योग स्थापनामा समन्वयसँगै सहजीकरण गरिने बताउनुभयो ।
त्यस्तै, अन्तरपालिकामा हुन सक्ने सीमा विवाद निरुपण, साझा प्राकृतिक स्रोतको उपयोग तथा संरक्षण, वातावरणमैत्री, बालमैत्री, पोषणमैत्री पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा, बाल विवाह मुक्त, छुवाछुत मुक्त पालिका घोषणा, साझा कानुन निर्माण, समावेशी कार्यक्रम, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, अन्तरनिकाय सहकार्य र समन्वय समितिको क्रियाशिलतामा जोड दिइने बताउनुभयो ।
समन्वय प्रमुख खत्रीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८१-०८२ को ३१ बुँदे नीति तथा कार्यक्रम सभाद्वारा पारित भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख तेजिन्द्र सलामी मगर, जिल्ला समन्वय अधिकारी हरि नारायण बेल्वासे, १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यहरू लगायतको सहभागिता रहेको सभामा गत आर्थिक वर्षको समग्र जिल्लाको समीक्षा समेत गरिएको थियो ।