• ११ पुस २०८१, बिहिबार

तनहुँको नौ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

blog

राष्ट्रिय परिचयपत्र प्रदान गर्नुहुँदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस १० गते । तनहुँका नौ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्रहरू पलिकामा हस्तान्तरण गर्ने कार्य पूरा भएपछि पालिकाबाट वितरण गरिएको हो । 

भानु नगरपालिका बाहेक सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सेवाग्राहीलाई सहज भएको छ ।  जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण भइरहेकाे छ ।  

भानु नगरपालिकामा भने राष्ट्रिय परिचयपत्र वितरणको काम बाँकी छ । सेवाग्राहीको सहजकताका लागि पालिकाबाटै वितरण गरिएको र भानु नगरपालिकामा पनि चाँडै नै थालनी गरिने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो । 

अधिकांश सेवाग्राही लिन नआएपछि जिल्ला कार्यालयमा ६० हजारभन्दा बढी परिचयपत्र थन्किएर बसेकोमा सेवाग्राही लिन र व्यवस्थापनका लागि सहज बनाउन पालिकाबाटै वितरणको व्यवस्था मिलाएको प्रजिअ थापाले बताउनुभयो । थापाले भन्नुभयो, "सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था नेपालमै पहिलो पटक मिलाइएका हौं ।" परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको प्रशासनले जनाएको छ ।  

व्यास नगरपालिकाले एक कार्यक्रम गरी राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले मङ्गलबारबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेले सुरुवात गर्नुभयो ।

नगरपालिका हलमा आयोजित कार्यक्रममा उप प्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा वितरण गरिएको हो । 

समारोहमा नगरप्रमुख न्यौपानेले राष्ट्रिय परिचयपत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको थियो  ।