• १३ पुस २०८२, आइतबार

नेपालमा एआई शिक्षासम्बन्धी कार्यक्रम हुँदै

blog

काठमाडौँ, पुस १० गते। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युटले एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ। 

यो ११ दिने शैक्षिक कार्यक्रम पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ। यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनमा केन्द्रित छ।

संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एशियाकै ठूलो पृथक मञ्च हो। आधारभूतदेखि आधुनिक विचार र विधिसम्मका विषयवस्तु तथा अनुप्रयोगलाई समेट्नेछ। 

कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा आयोजना हुँदैछ। यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पीएचडी तहका दुई सय विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नल सहभागी हुन सक्नेछन्। बिगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीले यस कार्यक्रममा भाग लिएका छन्।

निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो। 

एजुकेसन आउटरीच प्रमुख अलोक खत्रीले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर भएको बताउनुभयो। 

यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एसिया फाउन्डेसन, डेटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारको साझेदारी प्राप्त भएको छ।