अमरराज नहर्की
तनहुँ, पुस १० गते । राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो । सो अवसरमा अवसरमा ढकालले यस्ता महोत्सवले स्थानीय उत्पादनले बजार पाउनुका साथै संस्कृति, भाषा संरक्षण पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले आदिकवि भानुभक्त आचार्यको भाषाको माध्यमबाट देशलाई एकतामा जोडेको स्मरण गर्दै उहाँको योगदानको प्रचार प्रसार गरी भानु जन्मको गाउँ चुँदीरम्घा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभयो ।
पर्यटक भित्र्याउन सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी साहित्यिक धाम बनाउने मुख्य उद्देश्यले गरिएको महोत्सव भानु नगरपालिका–१ भन्सारमा पुस ९ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
भानुको जन्मस्थल ओझेलमा परेकाले प्रचारप्रचार गर्न महोत्सव गरिएको भानुनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले बताउनुभयो ।
टेवा पुर्याउन महोत्सव गर्ने निर्णय गरेको बताउनुहुँदै महोत्सवमा एक लाखभन्दा बढी पर्यटकको आवागमन हुनुका साथै ६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिनुभयो । महोत्सवमा भानु जन्मस्थल चुँदीरम्घा र यस आसपासको अवलोकन भ्रमण, औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला, मास, एवम् अदुवा, ताजा तरकारी बिक्री तथा प्रदर्शनी, रमाइलो मेला, चर्चित कलाका बीचको दोहोरी गीत प्रतियोगिता, आदिवासी जनजातिका भेषभूषा, झाँकी तथा संस्कृति झल्किने कार्यक्रम समावेश गरिएको कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरु मानकाजी श्रेष्ठ, मङ्गलप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, नेकपा एमाले भानु नगर समितिका अध्यक्ष शङ्कर रानाभाट, भानु नगर उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजन श्रेष्ठलगायतले सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेकोले साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउन यस्ता महोत्सव टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।