सञ्जय कुमार मिश्र
गौर, पुस ९ गते । रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् । सरकारले गौर नाका भएर मात्र सवारीसाधन (चार पाङ्ग्रे ) जाने अन्य नाकाबाट रोक लगाइएको कार्यलाई तत्काल फिर्ता लिई छोटी सीमा नाकाबाट पनि सवारीसाधन आवतजावत गर्नुपर्ने माग गरेको हो ।
सीमा नाकाहरूबाट निर्वाध रूपमा गई रहेका चार पाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरूलाई विभिन्न काम बस भारततर्फ जान र आउन निकै लामो रुट भएर जानुपर्ने बाध्यतालाई अन्त गर्न तत्काल सञ्चालन गर्नुपर्ने नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्त झाले बताउनुभयो ।
सीमा क्षेत्रका जनताहरू आजित भइसकेको हुँदा अविलम्ब चार पाङ्ग्रे सवारीसाधनमाथि रोकलाई खुकुलो बनाई छोटी भन्सारलाई सञ्चालनमा ल्याएर चेकजाँचको व्यवस्थापन गर्नुपर्ने मधेश प्रदेश सभाको पूर्वसदस्य बाबुलाल साहले माँग गर्नुभयो ।
छोटी सीमा नाका सञ्चालन गर्नका लागि सवसभन्न दबाबमुलक कार्यक्रमहरू अन्तर्गत नेपाल सीमा सङ्घर्ष समिति परोहा रौतहटले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र समेत बुझाएका हुन् । त्यस्तै गौर भन्सार कार्यालय अगाडि सडक अवरुद्ध गरी आधा घण्टा धर्ना लगायत नारा जुलुस प्रदर्शन समेत गर्दै आइरहेका राजनितिकर्मी पवन पटेलले बताउनुभयो ।