• १० पुस २०८१, बुधबार

पालिकाका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरण

blog

सिरक वितरण अभियानलाई सम्बोधन गर्नुहुँदै पालिका प्रमुख कलवार । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, पुस ९ गते ।
रौतहटको गरुडा नगरपालिकाले पालिकाभित्र रहेका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरणको अभियान चलाएको छ । सिरक वा कम्बलको अभावमा कुनै पनि विपन्न वर्गका नागरिक कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यका साथ पालिकाले आफ्नो नौ वटै वडामा उक्त अभियान सञ्चालन गरेको हो ।

हालसम्म पालिकाले वडा नम्बर ९ को सिसवा, श्रीपुर र नगरकटिया टोलमा रहेका एक सय २५ जना अति गरीब र विपन्न परिवारलाई सिरक वितरण गरिसकिएको छ । यस्तै वडा नम्बर ३ र ९ का चार सय विपन्न परिवारलाई समेत सिरक वितरण गरेको नगरप्रमुख कन्थमणीप्रसाद कलवारले बताउनुभयो ।

उहाँका अनुसार सुत्ने समयमा शरीर न्यानो पार्न ओढिने सिरक वा कम्बल अभावको कारण नगरका कुनै पनि विपन्न वर्गका नागरिकले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ उक्त कार्य गरिएको हो । अभियान कार्यक्रममा उहाँले विपन्न नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुहुँदै उहाँहरूका समस्या र समाधानको सम्बन्धमा संवाद समेत गर्नुभएको छ । 

उहाँ भन्नुहुन्छ, “जाडोयाममा विशेष गरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका नागरिक, सुत्केरी र आर्थिकरूपमा कमजोर परिवारको दैनिकी कष्टकर रहन्छ । त्यस्ता वर्गलाइ विशेष प्राथमिकतामा राखी सिरक तथा कम्बल वितरण गरिएको छ । पालिकाका एक हजार भन्दा बढी त्यस्ता घरपरिवारलाई उक्त सामग्री वितरण गरिने छ ।”

नगरप्रमुख कलवारको उक्त अभियानलाई लाभग्राहीले प्रशंसा गरेका छन् । सिरक पाएपछि न्यानो कपडा अभावमा कठ्याङग्रिएर सुत्नुपर्ने समस्याबाट मुक्त भएकोमा हर्षित हुँदै पालिकाको वडा नम्बर ७ भिमडाबरका जेष्ठ नागरिक रामएकवाल साहले नगरप्रमुख कलवारलाई धन्यवाद दिनुभयो ।

सिरक पाइसकेका र क्रमशः सम्पूर्ण वडामा सिरक वितरण गरिने जानकारी पाएपछि वडाका विपन्न परिवार खुसी देखिएका छन् ।