• १५ वैशाख २०८२, सोमबार

एकीकृत घुम्ती शिविर : तीन सयभन्दा बढीले पाए नागरिकता

blog

नवराज श्रेष्ठ

रामेछाप, पुस ९ गते । रामेछापको हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले गाउँपालिकाले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । 

७ वटा वडा रहेको गाउँपालिकामा पुस १ गतेदेखि ७ गतेसम्म घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । घुम्ती शिविरमार्फत नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सहित गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहबाट प्रदान गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “उमाकुण्ड गाउँपालिका रामेछापको हिमाली पालिका हो । वडा नं १ गुम्देल नुम्बुर हिमालको काखमा अवस्थित छ । गुम्देलबाट सुरु भएको एकीकृत घुम्ती शिविर गाउँपालिकाको सात वटै वडामा सञ्चालन गरिएको छ । वडा तहमा सञ्चालित शिविरबाट नागरिकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सहित गाउँपालिकाको सेवा लिएका छन् ।”

पुस १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको घुम्ती शिविरबाट सबै वडाका गरी ३१९ जनाले नागरिकता लिएका र ५९८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको वडा नं ७ भुजिका वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सिंहदरबारको अधिकार, गाउँ-गाउँमा’ भन्ने मूल नारासहित पालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्ला प्रशासन कार्यालय रामेछाप समेतको सहयोगमा घुम्ती शिविर सञ्चालन गरियो । शिविरबाट १८४ जना महिला र १३५ जना पुरुष गरी ३१९ जनाले नेपाली नागरिकता लिएका छन् । ५९८ जनाको राष्ट्रिय परिचयपत्रका लागि  विवरण सङ्कलन भएको छ ।”

सबै वडामा गरिएको व्यवसाय दर्ता, व्यवसाय इजाजत, व्यवसाय पुँजी हेरफेर, व्यवसाय नामसारी, व्यवसाय खारेजी, व्यवसाय नवीकरण र योजना सम्झौता गरी ७० हजार ३७५ रुपैयाँ राजश्व सङ्कलन गरिएको प्रवक्ता नेवारले बताउनुभयो । शिविरमार्फत् सबै वडामा गरी ३४ वटा भन्दा बढी यो वर्ष उपभोक्ता समितिमार्फत सम्पन्न हुनुपर्ने योजनाहरूको सम्झौता भएको उहाँले बताउनुभयो ।