रमेश विश्वकर्मा
गुल्मी, पुस ९ गते । नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासङ्घ गुल्मी शाखामा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरणसँगै बधाई ज्ञापन कार्यक्रम गरिएको छ ।
निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पत्रकारिता पेशामा कर्म बढेको र पेशा खुम्चिँदै गएको बताउनुभयो । उहाँले जिल्लामा रहेका पत्रकारहरुलाई निष्पक्ष र निःस्वार्थ भावनाका साथ कलम चलाउन आग्रह गर्दै राजनैतिक नेतृत्वले बाटो बिराउँदा निडरताका साथ खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।
रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले पत्रकारिता पेशालाई मर्यादित र संयमित बनाउन आग्रह गर्नुभयो । उहाँले महासङ्घको गरिमा र सम्मानलाई माथि उठाउने गरी काम गर्न आग्रह गर्दै जिल्लाको सम्मुनति, समृद्धि, सुशासन र विकासका लागि सबैले हातोमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । सुशासनलाई कायम गर्न पत्रकारिताको माध्यमबाट निष्पक्ष र तथ्यपूर्ण सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तथ्यपूर्ण, खोजमूलक ढङ्गले पत्रकारिता गर्न आग्रह गर्दै अनियमितता र ओझेलमा पारिएका विषयवस्तुहरुलाई सशक्त रुपमा कलम चलाउँदै पत्रकारितामार्फत उजागर गर्न आग्रह गर्नुभयो । पत्रकारिता मात्रै गरेर जीविकोपार्जन गर्न कठिनाइ हुने अवस्था भए पनि निस्वार्थ भावनाका साथ पत्रकारिता गरिरहेको भन्दै पत्रकारहरुलाई धन्यवाद दिनुभयो ।
सम्पूर्ण राजनैतिक दलहरुको तर्फबाट नेपाली काँग्रेस गुल्मीका कोषाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले अहिलेको युग आधुनिक प्रविधि र सूचनाको युग भएको भन्दै सत्य, तथ्य, सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले महासंघको गरिमालाई बचाइराख्न आग्रह गर्नुभयो । निवर्तमान उपाध्यक्ष रेशम कुँवरले कोभिड–१९ महामारीकालमा महासङ्घले यहाँका सर्वसाधारण नागरिकका लागि अभियान नै सञ्चालन गरी गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुर्याएको स्मरण गराउनुभयो ।