मकवानपुर समाचारदाता
हेटौँडा, पुस ९ गते । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई बजेटमा रहेको असन्तुलन मिलाउन तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतासहितको उपस्थितिमा सोमबार यहाँ बसेको सर्वदलीय बैठकले चालु आर्थिक वर्ष २०८१/८२ मा रहेको बजेटमा देखिएका असन्तुलन मिलाउन र प्रदेश सभा सदस्यको मागको सम्बोधन गर्ने गरी प्रक्रिया थाल्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
गत असारमा प्रदेश सरकारले चालु आवका लागि ल्याएको बजेट तथा कार्यक्रम असन्तुलित भएको भन्दै प्रदेश सभा सदस्यले यथास्थितिमा बजेट प्रदेश सभाबाट पारित हुन नदिने बताएपछि प्रदेश सभाका सदस्यको मागलाई सम्बोधन गर्ने सहमतिमा प्रदेश सभाबाट बजेट पारित भई हाल कार्यान्वयनमा रहेको छ । प्रदेश सभाका सदस्यसँग योजना माग गरी बजेट नहालेको र बजेट दिएका योजनामा विनियोजित बजेट समानुपातिक नभएको भन्दै प्रदेश सभा सदस्यले विरोध जनाएपछि उक्त समस्या समाधान गर्न नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा सरकारलाई सुझाव दिन कार्यदल गठन गरिएको थियो ।
कार्यदलका संयोजक चित्रकारले सर्वदलीय बैठकले प्रदेश सभाका सदस्यको बजेट अपुग भएका योजनामा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रकमान्तर गरेर भए पनि थप रकम विनियोजन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बाढीपहिरोबाट क्षति भएका योजनाबारे सम्बोधन गर्ने र बाढीपहिरोका कारण प्रदेश सभाका सदस्यको मागका आधारमा परेका कतिपय योजना कार्यान्वयन हुन नसक्ने अवस्था रहेकाले ती योजनाको बजेटसमेत रकमान्तर गरी अन्य योजनामा हाल्न सुझाइएको बताउनुभयो । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बजेट बनेर कार्यान्वयनमा आएको लामो समय भइसक्दासमेत बजेटमा रहेको असन्तुलन मिलाउन भएको सहमति कार्यान्वयन नभएको पाइएकाले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँग सहमति कार्यान्वयन नहुनुको कारण खोजिएको बताउँदै तत्काल सहमति कार्यान्वयन गर्ने गरी बैठकमा पुनः सहमति भएको बताउनुभयो ।
विगतमा बजेट बनाउँदा प्रदेश सभा सदस्यले एक करोड रुपियाँको योजना माग गर्नेलाई पाँच लाख, ५० लाख माग गर्नेलाई १० लाख र ३० लाख माग गर्नेलाई एक करोड रुपियाँ बराबरको योजना परेका कारण बजेट असन्तुलित भएसँगै असन्तुष्टि बढेको थियो । चालु आवको बजेटमा देखिएका असन्तुलन, प्रदेश सभाका सदस्यको माग सम्बोधन, बजेट कार्यान्वयनलगायतमा सुझाव दिन गठित सर्वदलीय कार्यदलको यसअघि आइतबार हेटौँडामा बैठक बसेको थियो ।
बैठकले तयार गरेको बजेटलगायतका विषयमा सुझावसहितको कार्यदलको प्रतिवेदनमाथि सर्वदलीय बैठकमा छलफल गरी प्रतिवेदन मुख्यमन्त्री लामालाई बुझाइएको कार्यदलका संयोजक चित्रकारले बताउनुभयो ।