• १० पुस २०८१, बुधबार

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, पुस ९ गते । आगामी पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा नेपाली सेनाले गोरखा–काठमाडौँ एकीकरण पदयात्रा गर्ने भएको छ । पृथ्वीनारायण शाहले बाइसे/चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै पुस २१ बाट पदयात्रा सुरु गरिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेका पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, काली बक्स गण र श्रीनाथ गणको झन्डा, राष्ट्रिय झन्डा र टर्चसहित पुस २१ गते गोरखाबाट प्रस्थान गर्ने कार्यक्रम तयार भएको छ । नेपाली सेनाको ब्यान्डबाजा, पन्जैबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्लेअश्राङ हुँदै बोर्लाङको घाटबेँसी पु¥याइने छ । 

एक कार्यक्रम आयोजना गरी धादिङको टोलीलाई टर्च र झन्डा दिएर गोरखाको टोली फिर्ता हुने छ भने त्यहाँबाट अर्को टोलीले गोरखाबाट पठाइएको टर्च र झन्डा २६ गते साँझसम्म काठमाडौँको हनुमानढोका पु¥याउने छ । २७ गते हनुमानढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मूल समारोहमा शार्दूलजङ्ग गुल्मले उक्त टर्च र झन्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।