कृतबहादुर विष्ट
फूलवारी (कैलाली), पुस ९ गते । मंगलबारदेखि धनगढीमा हुने ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को तयारी पूरा भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा हुने शैक्षिक महोत्सवको तयारी पूरा भएको हो ।
आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन सुदूररपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एकसय बढी स्टल रहेको संघका अध्यक्ष भीम पडालले जानकारी दिनुभयो ।
उहाँले महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसमा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।’
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने बताउँदै उहाँले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिने बताउनुभयो । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागिता रहने छ ।
महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका –१ पशुपति टोलमा सञ्चालन हुने आयोजनकले जनाएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोवार हुने विश्वास आयोजकको छ ।
महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निःशुल्क प्रवेश, अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा ५० रुपियाँ टिकट दर राखिएको आयोजकले जनाएको छ । त्यस्तै, सर्वसाधारणलाई १०० रुपियाँ प्रवेश शुल्क राखिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई महोत्सवमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।