काठमाडौँ, पुस ८ गते । १९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड पुस २० गते हुने भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति सार्वजनिक गरेको हो ।
यस पटकको अवार्ड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । अवार्ड आयोजनाका लागि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र अध्यक्ष श्रेष्ठबिच सम्झौता भएको छ ।
अवार्ड कार्यक्रममा गतवर्ष चीनको होङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका उत्कृष्ट एक एक जना खेलाडीलाई सम्बन्धित राष्ट्रिय खेल सङ्घको सिफारिसको आधारमा अवार्ड प्रदान गरिनेछ ।
विजेता खेलाडीले अवार्डसहित १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।
यस्तै उत्कृष्टमध्ये नै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपियाँ, एकजना पाका खेलकर्मीलाई गजराज आर्दश खेल व्यक्तित्व, एकजना खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार स्वरुप ३५ हजार र एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई अवार्डसहित १५ हजार रुपियाँ प्रदान गरिनेछ ।
१९औँ एसियाडमा समावेश २९ खेलहरुमा फुटबल, साइक्लिङ, क्रिकेट, एथलेटिक्स, फेन्सिङ, रग्बी, ह्याण्डबल, पौडी, लनटेनिस, गल्फ, उसु, कुस्ती, भारोत्तोलन, बास्केटबल, सुटिङ, कबड्डी, ट्राइथलन, टेबलटेनिस, बक्सिङ, इ–स्पोर्टस, स्क्वास, जुडो, कराते, डान्स स्पोर्ट्स, ब्याडमिन्टन, भलिबल, तेक्वान्दो, आर्चरी र क्यानोइङ रहेको थियो ।