काठमाडौं, पुस ८ गते । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ ।
माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । पुरस्कारमा ७४५ स्टर्लिङ पाउण्ड नगद राशि रहेको छ ।
केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ– ‘‘श्रेष्ठले दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गर्नुभएको छ ।’’
सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले सीमा व्यवस्थापन र सीमाक्षेत्र पुनप्र्राप्तिका कानूनी मुद्दाहरूमा आफूलाई केन्द्रित बनाउनु भयो । सीमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन यस विषयमा १४ वटा पुस्तक प्रकाशित गर्नुभएको छ ।
‘‘बुद्धि नारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथसाथै शान्ति र स्थिरता ल्याउनका लागि सीमा क्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन् । उहाँले नेपाल र सीमापार सीमा निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् र हामी उहाँलाई माइलफस्की अवार्डले मान्यता दिन पाउँदा गर्व गछौंँ ।’’ आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले पुरस्कारबारेका उल्लेख गर्नुभएको छ ।