नेपालगन्ज, पुस ८ गते । नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल सङ्घले सहकार्य गर्ने भएको छ ।
बाँके जिल्ला फुटबल सङ्घको बैठकले नेपालगन्ज रङ्गशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो ।
अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सहकार्य गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘हामी निकै खुसी छौँ । फुटबल भनेको सामूहिक भावनाबाट खेल्ने गरिन्छ । फुटबलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरेका हौं ।’’
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै ठूलो प्रतियोगिता हो । यसअघि प्रतियोगिताको लोगो सार्वजनिक भैसकेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको थियो । फागुनको अन्तिम साता हुने लुम्बिनी कपमा नेपाल र भारतका आठ टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यले प्रतियोगितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘बाँके जिल्ला फुटबल सङ्घ फुटबल खेलाडी र फुटबलकर्मीको अभिभावक हो । सङ्घको सहकार्यले हामीलाई थप उत्साही बनाएको छ । यो सहकार्यले प्रतियोगिताको स्तरलाई बढाउन सहयोग गर्नेछ ।’’ प्रतियोगितालाई प्रभावकारी बनाउन अन्य तयारीहरु तीव्र गतिमा अगाडि बढिरहेको शाहले बताउनुभयो ।