• ८ पुस २०८१, सोमबार

वातावरण जोगाउन सबै लाग्नुपर्छः मुख्यमन्त्री लामा

blog

जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक कार्यक्रमलाई हेटौँडामा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, पुस ८ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्ने बताउनुभयो । जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक कार्यक्रमलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वातावरण नराम्रो हुँदा सबैलाई प्रभाव पार्ने भएकाले वातावरण जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै ऐन कानुनी बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नीतिगत रूपमा मन्त्रालय सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो । सार्वजनिक सम्पदाको जोगाउन नसके पहिचान पनि मेटिँदै जाने बताउँदै उहाँले सम्पदाको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।


राजनीतिक रूपमा महिला अगाडि बढेको बताउँदै अब आर्थिक रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । महिला र युवालाई सशक्त बनाउन सामाजिक विकास मन्त्रालय लागिरहेको बताउँदै उहाँले महिला विकास निर्माणको कार्यमा लाग्नुपर्नेमा जोडिनुभयो । आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय रूपमा पनि महिलालाई जोड्नुपर्ने उहाँको भनाइ छ ।

वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सुविधाको नाममा पृथ्वीलाई मानव समुदायले ध्वस्त बनाउँदै लगेको बताउनुभयो । जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

ग्रामीण, सीमान्तकृत समुदायमा रहेका महिला जलवायुको परिवर्तनका कारण बढी प्रभावित भएको सक्रिय महिला समूह चितवन कार्यक्रम संयोजक सुजता बर्तौलाले बताउनुभयो । वन, वातावरण र पानीको स्रोत संरक्षण गर्न चुनौती भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण समिति सदस्य भारती पाठकले समन्वय, सहकार्य र सहअस्तित्वसहित अगाडि बढेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय नहुँदा समस्या भएको बताउनुभयो । कार्यक्रममा एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यस्ले पारेको असरबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश स्तरीय संवाद कार्यक्रममा सङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्ने लगायतका विषयमा बृहत् छलफल भएको थियो । संवाद कार्यक्रम स्थलमा वनसँग जोडिएर उत्पादन गरिएको साबुन, ढक्की, महको लगायतका स्टल राखिएको थियो । मकवानपुर महिला समूह अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।