नागेन्द्रकुमार कर्ण
महोत्तरी, पुस ८ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालयलगायतका अन्य कार्यालयहरुमा आइतबार कामकाज ठप्प जस्तै भएको छ । बिजुली र इन्टरनेटको तार व्यवस्थित गर्नुपर्ने कारण जलेश्वरका अधिकांश कार्यालयमा कामकाज प्रभावित बनेको हो ।
सदरमुकाम जलेश्वरमा विद्युत् तथा इन्टरनेट सेवाको स्तरोन्नति एवम् मर्मत सम्भारको कामकाज भइरहेकाले विगत तिन दिनदेखि इन्टरनेट सेवा ठाउँठाउँमा अवरुद्ध छ भने दिनभरि विद्युत् कटौती हुँदै आएको छ । विद्युत र इन्टरनेट अभावमा कार्यालयहरुको कामकाज ठप्प जस्तै छ ।
सदरमुकाम जलेश्वरको खैरा चोकदेखि दुर्गा चोक हुँदै जिरोमाइल तथा दुर्गा चोकदेखि बुद्धिजीवी चोकसम्मको सडकमा अहिले बिजुली र इन्टरनेटको स्तरोन्नतिको कामकाज भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले विद्युत् र इन्टरनेट अभावमा कार्यालयबाट प्रवाह हुने नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका इन्टरनेटमा आधारित सेवाहरु अवरुद्ध हुन पुगेको बताउनुहुँदै अर्को सूचना प्रकाशन नभएसम्मका लागि यस कार्यालयबाट इन्टरनेटमा आधारित सेवाहरु अवरुद्ध हुने सूचना समेत प्रकाशन गरिएको वताउनुभयो ।
सदरमुकाम जलेश्वरको पोलपोलमा अनावश्यक तारहरुको गुजुल्टोले समय समयमा दुर्घटनाहरु निमित्तने गरेकोले जलेश्वर नगरपालिकाले विद्युत प्राधिकरणलगायतका सरोकारबाला निकायहरुसँगको सहयोग र समन्वयमा ति तारहरु हटाउने अभियान चलाएको छ । अभियानको कारणले अहिले जलेश्वरमा पोल पोलमा रहेको अनावश्यक तारहरु हटाइँदै छ ।
जथाभावी टाँगिएको पुरानो तारको गुजुल्टोले पोलहरु खस्ने अवस्थामा रहेको र तारसमेत चुँडिएर आगलागी र दुर्घटना भइरहेकाले अभियान चलाइएको जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जलेश्वर नगरपालिकाभित्र जथाभावी झुण्डिएका तारका कारण कतिपय ठाउँमा आगलागी भएर दुर्घटना हुने गरेको, कतिपय ठाउँमा सवारीसाधन ल्याउन लैजान असहज हुने गरेको र नगरको सौन्दर्यमा समेत प्रभाव पारेका कारण जलेश्वर नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा (टु वे पोलिङ्ग)को काम तीव्र गतिमा भइरहेको छ ।’’
नगरप्रमुख सोनारले जथाभावी झुण्डिएको तारहरुको समेत व्यवस्थापन भइरहेको वताउनुहुँदै यसले नगरको सौन्दर्यकरणमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
अधिकांश सरकारी कार्यालयहरुमा इन्टरनेटबाट आधारित सेवा प्रवाह हुँदै आएकाले बिजुली र इन्टरनेट अभावमा कामकाजहरु ठप्प जस्तै बनेको देखिएको छ । दैनिक दिनभरि इन्टरनेट प्रदायक संस्थाहरुले पोल पोलमा रहेको पुरानो इन्टरनेट तार हटाएर नयाँ तार हालिरहेको छ ।
मालपोत कार्यालय महोत्तरीमा लेखनदासको कामकाज गर्दै आइरहनुभएका अर्पण कुमार कर्णले आइतबार इन्टरनेट नहुदाँ मालपोतको काम ठप्प जस्तै रहेको बताउनुभयो । कार्यालयका अधिकांश कामकाज इन्टरनेटबाट हुने गर्दछ, इन्टरनेट नभए काम नै नहुने बताउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरको प्रशासन फाँटका प्रमुख रोविन कुमार झाले बिहीबारदेखि अस्पतालक्षेत्रमा इन्टरनेट नरहेको बताउनुहुँदै इन्टरनेट अभावमा कार्यालयको इमेल चेक गर्ने र इमेलबाट चिठीपत्रहरु पठाउन नसकिएको बताउनुभयो ।