• ८ पुस २०८१, सोमबार

गुल्मीमा राहदानी सेवा प्रारम्भ

blog

राहदानी लिनका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, पुस ८ गते ।  सहज रूपमा सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्षद्वारा जिल्ला प्रशासन कार्यालय गुम्मीमा तोडफोड भएपछि रोकिएको राहदानी सेवा आइतबारबाट सुचारु भएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गाउँपालिकाका नागरिकले सहज रूपमा सेवा नपाएको आक्रोशमा राहदानी फाँटको स्क्यानर फुटाउनुभएको थियो ।

बिहीबारबाट रोकिएको राहदानी फाँटको काम आइतबार बिहान १० बजेबाट सुरु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबार बाँकी रहेका र शुक्रबार ४० जनाका लागि वितरण गरिएको टोकनका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर आइतबारको काम अगाडि बढाइएको गैरेले बताउनुभयो । 

बिहीबारबाट रोकिएको राहदानीका लागि आवेदन सङ्कलन कार्य विभागबाट स्क्यानर आएपछि आइतबारबाट सेवा सुचारु गरिएको गैरेले बताउनुभयो । बिहीबार रोकिएको राहदानीको काम नहुँदा सेवाग्राही थप मर्कामा परेका थिए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सदरमुकामबाट विकटमा रहेका नागरिक सदरमुकाम आउँदा दिउँसो २ बज्ने भएकाले सहज रूपमा सेवा पाउनुपर्ने माग गर्नुभएको थियो । 

विकटका नागरिकलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने उहाँको माग थियो । आफूले व्यक्तिगत नभई गाउँपालिकाभित्रका नागरिकका लागि आवाज उठाएको उहाँको तर्क छ । यही अवस्थामा कालीगण्डकीका नागरिकले सेवा लिनका लागि तीन दिनको समय खर्चिनुपर्ने उहाँको भनाइ छ । 

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले स्थानीय सरकार र सङ्घीय सरकारबिच समन्वयको अभावका कारण समस्या भएको बताउनुभयो । समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोडमै जानु गलत भएको उहाँको तर्क छ । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा थप सुधार गर्नु आवश्यक भएको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट हुने सेवा प्रवाहमा कसैलाई काखा र कसैलाई पाखा नहुने प्रशासनले जनाएको छ । विकटलाई ध्यानमा राख्दै इमेलबाट अपुग सिफारिस मगाएर सहजीकरण गर्दै आएको कार्यालयले जनाएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रेशमराज न्यौपानेले कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँपालिकालाई केन्द्रित गरी इलाका प्रशासन आवश्यक रहेको बताउनुभएको छ । 

सामाजिक सञ्जालमार्फत उहाँले केही दिनपहिले देखिएका समस्या समाधान गर्नका लागि इलाका प्रशासन आवश्यक रहेको बताउनुभएको हो । यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्क्यानर फुटाउने अध्यक्षलाई क्षतिपूर्ति भराई राजनीतिक दलहरूको रोहबरमा लिखित माफी गराइएको बताउनुभयो ।