• ८ पुस २०८१, सोमबार

राजनीतिले बिर्सिएको ‘इतिहास पुरुष’

blog

“मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ । यसका साथै प्रजातन्त्र प्रिय छ, मेरो आँखामा समुन्नत नेपालको सपना छ । त्यो सपना नयाँ पुस्ताले पूरा गर्न सक्छ भन्ने मलाई पूरा विश्वास छ ।” यो वाक्यांश कृष्णप्रसाद भट्टराईले २०५६ चैत ३ गते प्रधानमन्त्रीका हैसियतमा प्रतिनिधि सभामा अन्तिम सम्बोधन गर्दा व्यक्त गर्नुभएको हो । भट्टराईको उक्त भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । जीवनको उत्तरार्धमा आफूले जन्माए हुर्काएको पार्टीबाट अलग हुनुपरे पनि प्रजातन्त्र र विधिको शासनका पक्षमा उहाँले बाँचुन्जेल खबरदारी गरिरहनुभयो । 

भट्टराईको जस्तो निष्ठा, नैतिकता र इमान भएको नेता आज शिला खोज्दा झैँ खोजे पनि पाइँदैन, न भविष्यमा यस्तो नेता नै जन्मिने छन् । त्यसैले भनिन्छ, भट्टराई नेपाली राजनीतिमा इमान र नैतिकताको पहिचान भएका एकमात्र राष्ट्रप्रेमी नेता पनि हुनुहुन्छ । प्रवासमा गएर बस्नुभन्दा स्वदेशमै जेल जीवन बिताउन तयार हुनु भनेको भट्टराईको राष्ट्रप्रेमको नमुना थियो । राष्ट्रप्रेम, राजनीतिमा निष्ठा, मूल्य र मान्यताप्रतिको प्रतिबद्धताकै कारण उहाँले पञ्चायती शासनव्यवस्थामा १४ वर्ष जेल जीवन बिताउनुभयो । जीवनभर बिपी कोइरालाको आदर्शलाई मार्गनिर्देशक सिद्धान्त मानेर सँगसँगै अघि बढे पनि बिपीसँग भट्टराईको सधैँ एउटा विषयमा विमति रह्यो, “जे गर्नु पर्छ स्वदेशमै बसेर गरौँ । प्रवासमा बसेर कांग्रेसको जीवन चल्दैन, कांग्रेसजनसँगको सम्बन्ध पनि टुट्ने छ ।” गणेशमान सिंहलगायत धेरै नेता बिपीसँगै प्रवासमा गए तर भट्टराई जानुभएन । एउटा राष्ट्रप्रेमी नेपालीले यसकारण भट्टराईको सदा स्मरण गरिरहनेछ । 

हो, आज पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मानेर मुलुकमा ठुलो परिवर्तन ल्याउने भाषण धेरैले गरिरहेका छन् तर नागरिक जीवन झन् झन् कष्टकर बन्दै गएको छ । आफूलाई राजनीतिज्ञ भन्नेहरूले पनि आफ्नै क्षमतामाथि विश्वास गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा भट्टराई जस्ता राजनेताको स्मरण हुन्छ । ‘कर्म गर, फलको आशा नगर’ भट्टराईको मुख्य आदर्श थियो भने सदाचार, निष्ठा र इमानदारी परिचय । छाता, सुराही र टिनको ट्याङ्का सम्पत्ति । भट्टराईकै चेला हुँ भन्ने एउटा छोटे नेताको आजको जीवनशैलीले उहाँलाई गिज्याइरहेको छ । 

व्यावहारिक जीवनमा उहाँको आदर्श र चरित्रलाई मार्गनिर्देशक सिद्धान्त बनाउने राजनीतिक उत्तराधिकारी कोही पनि देखिँदैन । त्यसैले त उहाँको लिगेसी मानिने निष्ठा, सदाचार र इमानदारीले अभिभावक खोजिरहेको छ । यो आदर्शलाई इमानदारीपूर्वक अघि बढाउने हैसियत सायद अहिलेको कांग्रेसमा कसैले पनि राख्न सक्दैन । पद,  पैसा र शक्तिलाई प्रधान ठान्ने, समाज र राष्ट्रहितका पक्षमा राजनीति गर्न नसक्नेले भट्टराईको उत्तराधिकारी बन्ने नैतिक हैसियत पनि राख्दैन । 

जीवनको उत्तरार्धमा आफैँले जन्माएर हुर्काएको पार्टीसमेत छाड्नुपर्ने अवस्था आउँदा कस्तो भयो होला भट्टराईलाई ? आज यो प्रश्नको उत्तर कसैले दिन सक्छ ? प्रजातन्त्रको प्रवर्धनमा योभन्दा विडम्बना अरू केही हुन सक्छ ? आज सत्ता आफ्नो हातमा होला तर सत्ताको अनुभव आमनागरिकजनले गर्न पाएका छन् कि छैनन्, यो नै मुख्य विषय हो । 

“लामो कालदेखि विभाजित स्थितिमा रहेको हाम्रो प्यारो संस्था नेपाली कांग्रेस एक भएकोमा मलाई ठुलो खुसी लागेको थियो । जुन कारणले गर्दा हिजो एकीकरणको सम्मेलनमा आफ्नो शारीरिक आयुध्र्याजन्य अक्षमतालाई एकछिनका लागि बिर्सेर पनि म त्यहाँ लामो समयसम्म उपस्थित थिएँ र आफ्नो हार्दिक समर्थन पनि जनाएका थिएँ । यति हुँदाहुँदै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सार्वकालिक स्वर्गीय नेता बिपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिंदै छ । त्यसो हुनाले यस पार्टीसँग अब उपरान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहने छैन । तपाईं सबै सहयोगी साथीसँग अब म भारी मन लिएर सदैवका लागि बिदा लिँदै छु ।”

कांग्रेस गणतन्त्रमा जाने निर्णयमा पुगेपछि महासमिति सदस्यका नाममा आफूले कांग्रेस छाडेको सन्देश दिँदै भट्टराईले भनेका यी विचारले निष्ठावान् कांग्रेसका सदस्यको मन कति पोल्यो होला ? त्यतिबेला यसलाई असान्दर्भिक बनाएर उडाउने काम भयो । उहाँको यो निर्णयलाई इतिहासले कसरी व्याख्या र मूल्याङ्कन गर्ला, त्यो इतिहास लेख्नेहरूको जिम्मामा छाडिदिऊँ । 

नयाँ संविधानले कुनै पनि दललाई बहुमत ल्याउन सक्ने बाटो बन्द गरिदिएको छ । कुनै दलको बहुमत नआएपछि मिलेर सत्ता चलाउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा कुन प्रजातन्त्रवादी, कुन वामपन्थी भन्ने विषयले खासै अर्थ राख्दैन । राजनीतिक सिद्धान्त पनि सबैको एउटै हुन सक्दैन । फरक सिद्धान्त अँगाले पनि सत्यको पक्षमा हिँड्ने व्यक्तिको चरित्र पछ्याउनु इमानदार राजनीतिज्ञको कर्तव्य हो । भट्टराई फरक विचार राख्नेप्रति उदार र सहनशील नभएको भए २०४७ सालमा विश्वले अनुसरण गर्ने खालको संविधान निर्माण सम्भव हुन्थ्यो ? हो, आज त्यसको सान्दर्भिकता सकिएको किन नहोस् ।

विसं २०५६ मा उहाँकै नाममा कांग्रेसले बहुमत ल्यायो । सत्ता सञ्चालनको नौ महिना नपुग्दै पार्टी राजनीतिले भट्टराईलाई सत्ताच्युत गरायो । त्यो घटना कांग्रेस जीवनकै सबैभन्दा ठुलो भूल थियो । प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभालाई विशेष सम्बोधनका क्रममा भट्टराईले भन्नुभएको थियो, “मेरो जीवनमूल्य भनेकै आस्थाको राजनीति हो । आस्था र निष्ठाको राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नु पर्छ– यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेष गरी कांग्रेसलगायत सबै राजनीतिक दलका साथीलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ । हाम्रो मिसन कतै हराउने त हैन ? हाम्रो पहिचान नै विलुप्त हुने त हैन ?” 

भट्टराईका यी विचार आज पनि उत्तिकै सान्दर्भिक छन् । देशभित्रका जुनसुकै शक्तिको विरोध वा प्रतिवादले मुलुकको पहिचान मेटाउन सक्दैन, मुलुकको शत्रु त्यो हो जो अरू कसैको इशारामा राजनीति गर्न चाहन्छ ! हामी नेपाली सधैँ नेपाली भएर रहने हो भने भट्टराईको आदर्शलाई मुलुककै आदर्श बनाऔँ । व्यक्तिगत उन्नति, पद र प्रतिष्ठालाई गौण बनाऔँ । ‘नेसन फस्र्ट’ भन्ने भट्टराईको मान्यताको संरक्षण गरौँ । अब हामी सबैले हारेर पनि मुलुकलाई जिताउनु पर्छ । राष्ट्रको पहिचान सुरक्षित भए शासनसत्तामा भोलि पनि पुगिने छ । आफू नपुगे आफ्नो उत्तराधिकारी पुग्ने छन् भन्ने कसम आजको राजनीतिक नेतृत्वले खानु पर्छ । प्रजातन्त्रमा व्यक्तिगत उन्नति मात्रै होइन, राजनीतिक निष्ठा र जनविश्वास पनि कायम राख्न सक्नु पर्छ । देशको प्राण भनेकै राष्ट्रवाद हो भने जनविश्वास शासन सञ्चालन गर्ने अख्तियारी पत्र । कांग्रेस र एमाले गठबन्धनको वर्तमान सत्ताले त्यो दायित्व पूरा ग¥यो भने भट्टराईप्रति सच्चा श्रद्धाञ्जली हुने छ । जन्मजयन्तीका अवसरमा भट्टराईप्रति हार्दिक श्रद्धासुमन !  

Author

विनोद न्यौपाने