• ७ पुस २०८१, आइतबार

बौद्ध धर्मगुरुद्वारा हेलम्बु ‘गे्रट ट्रेल’ अवलोकन

blog

हेलम्बुमा निर्माणाधीन ‘गे्रट ट्रेल’ को स्थलगत अवलोकन गर्दै बौद्ध धर्मगुरुसहितको टोली ।

चित्र मिजार

सिन्धुपाल्चोक, पुस ७ गते । चर्चित हेलम्बु ‘गे्रट ट्रेल’ मा बौद्ध धर्मगुरु परमपुज्य ड्रिकुङ क्याबगोन छेचाङ कोनछोक तेन्जिन कुन्जाङ ठिन्लेले स्थलगत अवलोकन गर्नुभएको छ । धर्मगुरु ड्रिकुङ नेतृत्वको टोलीले गे्रट ट्रेल र भेह्युल ह्योल्मो भूमिको स्थलगत भ्रमण गरेपछि पर्यटन प्रवर्धनमा टेवा पुग्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी गराउनुभएको छ ।

हेलम्बु गाउँपालिकाले शुव्रmबार र शनिबार धर्मगुरु ड्रिकुङलाई भेह्युल ह्योल्मो भूमि हेलम्बुमा ल्याएर लेन्डुपाल साङपो ड्रिकुङ काग्यु रिन्छेनलिङ गुम्बाको स्थलगत अवलोकन गराएको हो । अवलोकनपछि बुद्धको मूर्ति, धर्मग्रन्थ र हेलम्बु गे्रट ट्रेलमा षडाक्षरि धर्मचव्रm पर्खाल र स्तूपको प्राण प्रतिष्ठान गर्नुभएको छ । उहाँले हेलम्बु गापा–६ स्थित हेलम्बु बोधिसत्व मोडल स्कुलमा जम्मा भएका बौद्ध धर्मावलम्बीलाई दुई घण्टा प्रवचन दिनुभएको थियो । 

बौद्ध धर्म अन्तर्गत काग्यु सम्प्रदायका प्रमुख धर्मगुरुसमेत रहेका ड्रिकुङले हेलम्बुस्थित मिलारेपा गुम्बामा माचिग डुब्ये ग्याल्मो परम्पराको दीर्घायु अभिषेक प्रदान गरी विभिन्न पवित्र धार्मिक स्थलको भ्रमण गर्नुभएको छ । धर्मगुरुले हेलम्बु क्षेत्रको यात्रा गरेपछि बौद्ध धर्म र पर्यटकीय स्थलको थप प्रचारप्रसारमा टेवा पुगेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाको लगानीमा निर्माणाधीन ‘गे्रट ट्रेल’ सात किलोमिटर निर्माण भइसकेको छ । दुई हजार तीन सय मिटर उचाइको घोप्टेघ्याङबाट निर्माण सुरु गरिएको उक्त ‘गे्रट ट्रेल’ ६० किलोमिटर निर्माण गर्ने लक्ष्य रहेको पालिकाले बताएको छ । नागीडाँडा–शेर्माथान र शेर्माथान–रेन्पोन्छेडाँडासम्म ‘गे्रट ट्रेल’ निर्माण सम्पन्न भएको छ । १५ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको उक्त ट्रेल सम्पन्न गर्न करिब तीन अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।