जयकृष्ण यादव
इनरुवा, पुस ६ गते । कोशी प्रदेश उधोग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले प्रदेशमा केही दिन यता रासायनिक मलको अभाव भएको गुनासो आएकाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कम्पनीको आकस्मिक मौज्दातमा राखेको मलको वितरण गर्ने तयारी भएको बताउनुभएको छ ।
सुनसरीको इनरुवामा बाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभालाई सम्बोधन गर्नुुहुदै किसानको मागलाई ध्यानमा राखेर आफूहरुले प्रदेशमा रहेको केही आकस्मिक मौज्दातमा राखेको मल समेत वितरणको तयारीमा रहेको बताउनुभयो ।
मन्त्रीले हाङगामले उद्योग, कृषि तथा सहकारी मन्त्रालायले सम्बान्धित निकायहरुको समन्वय र संघीय सरकारको समेतको ध्यानाकर्षण गराई हिउँदे बालीको गहुँ, मकैं तथा तरकारी बाली, आलुको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएपछि आकस्मिक मौज्दातमा राखेको मलको वितरण गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले प्रदेशभन्दा मल वितरणको जिम्मा संघीय सरकार मातहतमा रहेको र अनुगमनको मुख्य जिम्मेबारी स्थानीय सरकारमा रहेकाले आफूहरु समन्वयको भुमिकामा रहेको बताउनुभयो ।
रासायनिक मलको अभाव देखिएपछि भण्डारणमा मौज्दात रहेको १० प्रतिशत मल वितरण गरेर अवस्थालाई सहज बनाउने तयारीमा रहेको बताउनुभयो । कुल आयात गरिएको मलको कम्तीमा १० प्रतिशत मल आकस्मिक मौज्दातका रूपमा रहने व्यवस्था हुन्छ ।
रासायनिक मलको भण्डारण हुँदाहुँदै वितरण प्रक्रियामा देखिएको सामान्य त्रुटिले तत्कालका लागि मलको अभाव देखिएकोजस्तो भएपनि मलको अभाव क्रमिक रूपमा सुधार भइरहेको उहाँको भनाइ छ ।