जनार्जन खत्री
सर्लाही, पुुस ६ गते । तराई मधेशका ग्रामीण महिलालाई अहिले गोबरको गुुइँठा बनाउन भ्याइनभ्याइ रहेको छ । गाउँ–गाउँमा एलपी ग्याँसको सहज पहुँच पुुगे पनि बैकल्पिक इन्धनको रुपमा गोबरको गुुइँठा प्रयोग गर्नेक्रम अझै कायमै रहेको छ । सर्लाहीमा दक्षिणवर्ती ग्रामीण बस्तीका महिलाले गोबरको गुुइँठा बनाएर सडक छेउमा सुुकाइरहेको देखिन्छ ।
गाईभैँसीको गोबरमा परालको धुलो (भुस्सा) हालेर बनाइएको गुुइँठालाई तराई मधेशमा दाउराको रुपमा प्रयोग गर्ने गरिन्छ । खेतमा धान बाली भित्र्याएर गहुँ समेत छरेपछि फुर्सदिला भएका मधेशका महिला गोबरको गुुइँठा बनाउन ब्यस्त हुने गर्छन् ।
सर्लाहीको पूर्व–पश्चिम हुलाकी राजमार्गसहित अन्य भित्री सडकको दायाँबायाँ अहिले जताततै गुुइँठा बनाएर घाममा सुुकाइएको देखिन्छ । दक्षिणीवर्ती क्षेत्रस्थित पर्सा, हरिपूर्वा, चन्द्रनगर, ब्रह्मपुरी, कौडेना, चक्रघट्टा, धनकौल, बलरा, विष्णु, गोडैता, रामनगर लगायत पालिकाका गृहणी महिला घरको कामधन्दा सकेर दिनभरजसो गुुइँठा बनाउने काममै लाग्ने गरेका छन् ।
उनीहरुलाई घरका वृद्ध उमेरका पुुरुष र स–साना बालबालिकाले गुुइँठा बनाउन साथ दिइरहेको देखिन्छ । पर्सा गाउँपालिका –३, नारायणपुरकी यशोदादेवी रायले खेतको बाली थन्काएपछि वर्षेनी यो याममा गुुइँठा तयार पार्ने काममा लाग्ने गरेको बताउनुुभयो ।
अहिले तयार पारिएको गुुइँठा वर्षायामसम्म नै सुरक्षित राखेर खाना पकाउँदा दाउराको रुपमा प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुुभयो । राम्रोसँग सुकिसकेको गुुइँठा अत्यधिक जाडो हुने समयमा आगो ताप्नका लागि समेत प्रयोग गर्ने गरिन्छ ।
घरमा एलपी ग्याँस भएको परिवारमा समेत परम्परागत रुपमा बनाउँदै आएको गोबरको गुुइँठा तयार पार्ने गरिएको स्थानीयले बताएका छन् । स्वास्थ्यकर्मीका अनुसार गोबरको गुुइँठा स्वास्थ्यका लागि भने हानिकारक रहेको छ । डा. गुणेश्वर झाले गुुइँठा बाल्दा निस्कने धुँवाबाट श्वासप्रश्वास, दम र फोक्सोसम्वन्धी अन्य रोगको सङ्क्रमण हुने जोखिम रहेको बताउनुुभएको छ ।