• ६ पुस २०८१, शनिबार

महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

blog

शिविरको स्वास्थ्य परीक्षण गरेर उद्घाटन गर्नुहुँदै व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै । तस्बिर :अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस ६ गते ।
महिलाको विभिन्न रोगको विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले व्यास नगरपालिका–१ भादगाउँ, दमौलीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मिलन योग साधना केन्द्र, मिलन टोल विकास संस्थाको आयोजना, भादगाउँ स्वास्थ्य क्लिनिक, श्रीना फार्मेसीको सहआयोजना र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

यहाँका बिरामी विशेषज्ञ चिकित्सकको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न टाढा धाउनुपर्ने बाध्यता भएकाले शिविरको आयोजना गरिएको जिल्ला समन्वय समिति तनहुँका पूर्व सदस्य तथा स्थानीय बासिन्दा केशबहादुर सुनारले जानकारी दिनुभयो । शिविरमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रुपा पनेरुको नेतृत्वमा डा.गरिमा गौतम, डा. कोमल शाह लगायतको टिमले बिरामीको प्रसुती तथा स्त्रीरोगको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गर्दै व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले घर छेउमै रोगको परीक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको उल्लेख गर्दै यस्ता शिविरको लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उपयुक्त हुने भएको योगको माध्यमबाट रोग न्यूनीकरण तथा रोकथाम गर्नुपर्ने बताउनुभयो । योग गर्न सहज बनाउन योग भवन बनाउन नगरपालिकाले मद्दत गर्ने उपप्रमुख दरैले बताउनुभयो । शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ ।

कार्यक्रममा व्यास नगपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, पतञ्जली योग साधना केन्द्र तनहुँका अध्यक्ष मानबहादु आले, मिलन योग साधना केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा लगायतले जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा नहुन्जेल बेला बेलामा हुने विशेषज्ञा डाक्टरसहितको शिविरले केहि हदसम्म बिरामीलाई सहज हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

सुविधा सम्पन्न अस्पताल नभएकाले गर्दा कयौं नागरिकहरु जिल्लाबाट बसाइँसराइ समेत गरेका छन् । शिविरमा एक सय २१ जनाले स्वास्थ्य परीक्षणका लागि नाम दर्ता गराएका छन् ।