• ६ पुस २०८१, शनिबार

एनपिएल फाइनल

सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

blog

ट्रफिका साथ दुवै टोलीका कप्तान ।

काठमाडौँ, पुस ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपिएलको फाइनल खेल हेर्न करिव २० हजार दर्शक कीर्तिपुर पुगेका छन् ।

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । यसअघिका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

नेपाल क्रिकेट सङ्घ(क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ ।