राधाकृष्ण डुम्रे
वालिङ, पुस ६ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शाह वंशको कुलदेवी मन्दिरको दर्शन गर्नुभएको छ । भण्डारीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ सटुकामा रहेको आलमदेवी मन्दिरको दर्शन गर्नुका साथै विशेष पूजा गर्नु भएको हो ।
मन्दिर दर्शनका लागि भण्डारी स्याङ्जा आउनु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । औपचारिक अन्य कार्यक्रम नरहेको भन्दै अध्यक्ष थापाले मन्दिर दर्शनका लागि मात्र भण्डारी जिल्लामा आउनु भएको जानकारी दिनुभयो ।
मन्दिरमा पूर्व राष्ट्रपति भण्डारीले विशेष पूजा गरेपश्चात् उहाँलाई पालिकाको तर्फबाट स्वागत र सम्मान गरिएको अध्यक्ष थापाले बताउनुभयो । यसअघि भण्डारीलाई स्याङ्जाका विभिन्न ठाउँमा स्वागत र सम्मान गरिएको थियो । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले सदरमुकाममा स्वागत गरेका थिए ।
नेकपा (एमाले) को राजनीतिमा पुनः फर्कने चर्चाकाबिच स्याङ्जा भ्रमणमा आउनु भएकी पूर्व राष्ट्रपति भण्डारीलाई एमाले कार्यकर्ताहरुले ठाउँ–ठाउँमा बाजागाजासहित स्वागत तथा सम्मान गरेका हुन् ।