संयुक्त राष्ट्रसङ्घले भर्खरै मात्र डिसेम्बर २१ (पुस ६ गते) का दिनलाई प्रथम विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ । हुन त योभन्दा पहिले विश्व योग दिवसको घोषणा गरेर विश्वले योगबारे जान्ने मौका पायो । यसरी ध्यान योगलाई विश्वव्यापी बनाएर संयुुक्त राष्ट्रसङ्घका १९२ देशमा पु¥याउनु हाम्रा लागि खुसीको कुरा हो । ध्यान शब्दको सामान्य प्रयोग मनको एकाग्रताका लागि गरिन्छ । तर योगमा ध्यान शब्दको उपयोग केवल एकाग्रता ठान्नु त्यसको प्रारम्भिक चरण मात्रै हो ।
ध्यानद्वारा जीवनको लक्ष्य के हो ? त्यो कसरी प्राप्त हुन्छ ? त्यसको ज्ञान हुन्छ । मानिसभित्र निहित अथाह ज्ञानको बोध हुन्छ । ध्यानद्वारा नै अनन्त सम्भावनाको क्षेत्रमा पुग्न सकिन्छ । व्यक्तित्वको समग्र विकासको ढोका खुल्न जान्छ । ध्यानद्वारा नै मानिसभित्र अन्तरनिहित ईश्वरीय तìवको खोजी गर्न मद्दत पुग्छ । ध्यानको अर्थ र महत्व नै जीवनमा आइपर्ने सारा दुःख, कष्ट, चिन्ता, मानसिक तनाव निवारण गर्नुका साथै शारीरिक निरोगिताको जीवन प्राप्त गर्नु हो । यही महत्वलाई आत्मसात् गरेर संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा ध्यान दिवस मनाउने घोषणा ग¥यो । विश्वका मानिसको मानसिक, शारीरिक र आध्यात्मिक उन्नतिको अन्तरनिहित चाहना यस घोषणामा झल्किन्छ ।
भगवान् शिवले स्वयम् ध्यान गर्नुहुन्थ्यो । भैरव तन्त्रमा ११२ वटा ध्यानका विभिन्न विधि देवीलाई शिवजीले सुनाउनुभएको छ । भगवान् कृष्णलाई त झन् ‘योगेश्वर’ भनिन्छ । त्यसै गरी सत्य युग, त्रेता, द्वापर र कलि युगमा कुनै न कुनै रूपले ध्यान अनिवार्य तत्वका रूपमा ऋषिमुनि र सिद्ध पुरुष, साधक साधिकाले अवलम्बन गरेको पाइन्छ ।
नेपाल ज्ञान भूमि, ध्यान भूमि, तपोभूमि र योग भूमि हो । ऋषिमुनिको तपस्थली नेपाली माटो हो । योगको उत्पत्ति यसै माटोबाट भएको हो भन्दा अत्युक्ति हुँदैन । ध्यान साधनाको उर्वर भूमि नेपाल हो । यहाँका गुफा, कन्दरा, पहाड र हिमालय योग साधनाका लागि उत्तम मानिन्छन् । पाणिनि, शृङ्गी ऋषि, वशिष्ठ, व्यास, परासरलगायत हजारौँ ऋषिमुनिले यो भूमिलाई साधनास्थल बनाएको इतिहास छ । रावणले वैधनाथ क्षेत्रमा तपस्या गरेको इतिहास छ । पछिल्लो कालखण्डमा भगवान् गौतम बुद्ध र उहाँसँग जोडिएको ध्यानले जापान, ताइवान, बर्मा, थाइल्यान्ड, कोरिया, चीनलगायत कैयौँ देशमा प्रभाव दिनानुदिन बढाइरहेको छ ।
हामीले हाम्रो योग, ध्यानलाई आफ्नो ब्रान्ड बनाएर पश्चिमी देशलाई बेच्न सकेनौँ । योग र ध्यानको महत्व र यसको सही प्रयोगले मानव शरीर निरोगी रहने र मन शान्ति रहने अचुक साधनको रूपमा पश्चिमी देशका मानिसले बुझेका कारण आज ध्यानले विश्वव्यापी मान्यता पायो । कोरोनाकालमा कोठामा बन्दी जीवन बिताउन बाध्य मानव समुदायले विभिन्न सामाजिक सञ्जालमार्फत आफूलाई योग, ध्यान, प्राणायाम र प्राकृतिक जीवन शैलीमा ढाल्न सिके । कोरोनाको कहर भोगेका विश्वका मानिसले बल्ल आएर प्राणायामको महत्व बुझ्यो । योगासन अवलम्बन गर्न थाल्यो । ध्यानका विविध विधिको खोजी गर्न थाल्यो । यही खोजाइको क्रममा पश्चिमी जगत् बाध्य भएर हाम्रो पूर्वीय ज्ञान, दर्शन र जीवन शैलीलाई सही ठान्न पुग्यो । विज्ञानले चरम विकास गरेको वर्तमान अवस्थामा पनि मानिस सुखी छैन, हरेक मानिसमा तनाव छ, चिन्ता छ, पारिवारिक कलह छ । विश्व क्रमशः द्वन्द्व र हिंसामा उद्दत छ । भौतिक सम्पन्नताले वास्तविक शान्ति नदिने रहेछ भन्ने कुरामा पश्चिमी जगत्का मानिसका आँखा खुल्दै गए । वास्तविक शान्तिको खोजीमा लाग्नेहरू आज बाध्य भएर पूर्वीय ज्ञान, दर्शन र जीवनशैली आत्मसात् गर्न बाध्य भए । जसको फलस्वरूप यो विश्व ध्यान दिवस घोषणा भएको हो ।
सन् १८९३ मा अमेरिकाको सिकागो सहरमा भएको विशाल सभालाई सम्बोधन गर्दै स्वामी विवेकानन्दले भन्नुभएको थियो, “माई ब्रदर एन्ड सिस्टर्स अफ अमेरिका” यो वाक्य सुनेपछि उपस्थित अमेरिकी जनताले दुई मिनेटसम्म तालीको गडगडाहट गरे । यो सम्बोधन सुनेपछि अमेरिकी जनतामा हर्ष र कौतूहलता उत्पन्न भयो । एक जना योगीले अमेरिका आएर उपस्थित अमेरिकावासीलाई मेरा दाजुभाइ तथा दिदीबहिनी भनेर अभिवादन गर्दा ध्यान तानिएको थियो । त्यसै समयदेखि उनीहरू पूर्वीय ज्ञान, विनयशीलता र फराकिलो सोचमा डुब्न बाध्य भए र चासो राख्न थाले ।
स्वामी दयानन्द, परमहंस योगानन्द, ओसो, महर्षि महेश योगी जस्ता सन्त महन्तहरूले अमेरिका र युरोपेली देशहरूमा ध्यान योगको प्रचारप्रसार गर्नुभयो । उहाँहरूले व्यावहारिक रूपमै अनुभव गराउनुभएका कारण पश्चिमीहरूका बिच यसको माग बढेर गयो र ध्यान तथा योगको तीव्र गतिमा प्रचारप्रसार भयो । आजका दिनमा हामीभन्दा पश्चिमी देशका मानिसमा ध्यान र योगप्रति ज्यादै लगाव बढेको पाइन्छ ।
करिब २६०० वर्षअघि महर्षि पतञ्जलिले योग, ध्यान र चेतना विकासको कुरा समाजमा बाँड्नुभएको थियो, अष्टाङ्ग योगका कुरा सिकाउनुभएको थियो । आयुर्वेदका कुरा सिकाउनुभएको थियो । आधुनिक चिकित्सा विज्ञानले हाम्रा यजुर्वेद र चरक संहिता अँगालेका छन् । चिकित्सा क्षेत्रमा सुश्रुत, बागभट्ट, माधवनिदान जस्ता शास्त्रलाई उनीहरूले सन्दर्भ ग्रन्थका रूपमा लिन्छन् । हामी भने हाम्रा ज्ञानबाट अनभिज्ञ रहेका छौँ । महर्षि पतञ्जलिले ध्यानलाई सातौँ र समाधिलाई आठौँ अङ्गका रूपमा परिभाषित गर्नुभएको छ । आज उहाँबाटै स्थापित गरिएका मान्यतालाई सबैले अङ्गीकार गरेका छन् । पछि आएर भगवान् गौतम बुद्धले अष्ठशीलको ज्ञान दिनुभयो । बुद्धले साधनाका क्रममा अति नै सरल एवं सुविधाजनक ध्यानको पद्धति खोजी गर्नुभयो । यस पद्धतिलाई ‘आनापान सति तथा विपश्यना ध्यान’ भनियो ।
दिङ्गलाका ज्योति षडानन्द, खप्तड बाबा, शिवपुरी बाबा, योगी नरहरिनाथ जस्ता नेपाली विभूतिहरू तथा विभिन्न समयका महापुरुषले नेपालमा ध्यानको परम्परालाई जोगाएर यो उचाइमा पु¥याउनुभएको छ । व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा कुनै न कुनै प्रकारका ध्यानले समाजमा प्रभाव छाडिरहेकै छ । यो सकारात्मक पाटो हो । यसका लागि योग्य गुरुको सानिध्यता भने जरुरी हुन जान्छ । विश्व ध्यान दिवसका उपलक्ष्यमा सबैमा शुभकामना । ध्यान गरौँ, योग गरौँ र प्रसन्न चित्तले बाँच्ने कला सिकौँ ।