गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ६ गते । कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ । निर्माता विशाल चौलागाईंले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुष्टि गर्नुभएको हो । पोस्टरमा कलाकार प्रदीप खड्का, दयाहाङ राई र सौगात मल्ललाई देखाइएको छ । यी तिनै कलाकारमध्ये प्रदीप आक्रामक शैलीमा देखिनुभएको छ भने सौगातले बन्दुक चलाइरहनुभएको छ । दयाहाङको अनुहारमा भने हल्का रिस झल्किएको देखिन्छ ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय रहेको छ । सुमन गौतम कार्यकारी निर्माता रहनुभएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नुभएको हो । चलचित्रको पटकथा प्रदीप भारद्वाजले लेख्नुभएको हो भने केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।