बिजुवार समाचारदाता
बिजुवार, पुस ६ गते । प्युठानमा आधुनिक प्रविधिको अदुवा भण्डारण केन्द्र निर्माण गरिएको छ । स्थानीय ऐरावती कृषि बहुद्देश्यीय साना किसान सहकारीले सरुमारानी गाउँपालिका–३, ४, ५ र ६ मा गरेर जम्मा ८० वटा भण्डारण केन्द्र निर्माण गरेको हो । किसानले उत्पादन गरेका अदुवाको सुरक्षित व्यवस्थापनका लागि कारितास नेपालसँगको सहकार्यमा करिब आठ लाख ६४ हजार रुपियाँको लगानीमा २४ टन क्षमताको भण्डारण केन्द्र (काँचो इँटाको भकारी) निर्माण गरिएको सहकारीले जानकारी दिएको छ ।
बारीबाट झिकेको अदुवा लामो समयसम्म ताजा र सुरक्षित राख्न यो भण्डारणगृह उपयोगी हुने सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले बताउनुभयो । पालिकाका धेरै जसो क्षेत्रमा किसानले अदुवा खेती गर्ने गरेका छन् तर अदुवा घरमा राख्दा वा पुरानो तरिकाबाट भण्डारण गर्दा कुहिने, किरा लाग्ने, टुसा चाँडो उम्रने तथा तौल घट्ने जस्ता समस्या किसानले बेहोर्नु परेको थियो । अदुवा भण्डारणको सही तरिका अपनाउन नसक्दा विगतमा १८ प्रतिशत अदुवा कुहिएर त्यत्तिकै खेर जाने गरेको थियो । त्यसको निराकरणका लागि सहकारीले आधुनिक प्रविधिको भण्डारण केन्द्र निर्माण गरेको बताउनुभयो ।
सरुमारानी क्षेत्रमा मात्रै वार्षिक एक सय टन अदुवा उत्पादन हुने र त्यसमध्ये ६० टन जिल्लाबाहिर निर्यात हुने गरेको छ ।