• ५ पुस २०८१, शुक्रबार

सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

blog

तानसेन समाचारदाता

तानसेन, पुस ५ गते । एक दशकदेखि चिलाङ्दी–चापपानी–राम्दी सडक मर्मत हुन सकेको छैन । लामो समयदेखि सडक मर्मतसम्भार नहुँदा यो सडकमा यात्रा गर्ने यात्रु बर्सातमा हिलो र हिउँदमा धुलाम्मे भएर हिँड्न बाध्य छन् । २०७३ सालदेखि यो सडक अलपत्र जस्तै छ । सडकको अवस्था सुधार नहुँदा यात्रुको यात्रा कष्टकर बनेको छ । तत्कालीन जिल्ला विकास समितिले आठ किलोमिटर कच्ची सडकलाई ओटासिल गर्न आठ करोड ३१ लाख रुपियाँमा ठेक्का दिएको थियो तर उक्त काम हालसम्म पनि सकिएको छैन ।   

सडक पूर्वाधार कार्यालय पाल्पा र निर्माण व्यवसायीको लापर्बाहीले आठ वर्षसम्ममा पनि काम पूरा हुने छाँटकाँट देखाएको छैन । लामो समयसम्म काम नगरेर अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर्न नसक्दा सडकको अवस्था एक दशकदेखि नाजुक बनेको स्थानीय बासिन्दाको भनाइ छ । सडक पूर्वाधार कार्यालयको अलमलले सर्वसाधारण नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।  

कार्यालयको अलमलले झन्डै एक दशकदेखि यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएको बगनासकाली–५ का स्थानीय बासिन्दा विकास गैरेले बताउनुभयो । पूर्वाधार कार्यालयका प्रमुख वासुदेव भण्डारीले भने निर्माण व्यवसायीले काम नगर्दा पहिले बनेको सडक पनि बिग्रिएको बताउनुभयो ।