• ५ पुस २०८१, शुक्रबार

भेरी लिफ्टिङ आयोजनालाई प्रदेशले दियो बजेट

blog

प्रस्तावित भेरी लिफ्टिङ आयोजना स्थल  ।

रजनी योगी 

सुर्खेत, पुस ५ गते । भेरी लिफ्टिङ आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई सहयोग गर्न लागेको हो । अघिल्ला दुई आवमा समेत प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको थियो । बजेट कार्यान्वयनमा जान सकेको थिएन ।

चालु आवमा आयोजनाको ठेक्का सम्झौता भई काम अघि बढेकाले बजेट कार्यान्वयन हुने छ । कर्णालीवासीको आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरी स्वच्छ, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने नीतिबमोजिम प्रदेश सरकारले ठुला खानेपानी आयोजना निर्माणमा सहयोग गर्दै आएको छ । खानेपानीका बहुवर्षीय र क्रमागत आयोजनालाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ । सोही उद्देश्यबमोजिम भेरी लिफ्टिङ आयोजनालाई अघि बढाउन बजेट विनियोजन गरिएको छ । चालु आवमा उक्त योजनाको कार्यान्वयनका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।

सरकारले ससाना आयोजनाभन्दा ठुला आयोजनालाई प्राथमिकतामा राखेको हो । सरकारले अर्को ठुलो खानेपानी आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त आयोजनालाई अघि बढाउन लागेको हो । सल्यानको शारदा बृहत् खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । चालु आवमा एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको हो । यो वर्ष ठुला खानेपानीका योजनालाई प्राथमिकतामा राखिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बताउनुभयो । भेरी लिफ्टिङ जस्ता आयोजना अघि बढाउन सरकारले जोड दिएको छ ।

काम धमाधम

भेरी लिफ्टिङ आयोजना अन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको सर्भेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत पाँच वटा ठुला ट्याङ्की निर्माण गरिने छ । सुरुवाती चरणका काम धमाधम अघि बढेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । उहाँका अनुसार पाइपलाइन विस्तारको प्रिफिजिविलिटी अध्ययनको काम धमाधम भइरहेको छ ।

भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भई काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइ कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिन्ज्याङ टम्र्स इन्टरनेसनल इकोनमी एन्ड टेक्निकल कोअपररेसन कम्पनी लिमेटेडबिच ठेक्का सम्झौता भएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको आयोजना एकाइका प्रमुख साहले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा सङ्घीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठुलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजना बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।