मुसीकोट समाचारदाता
रुकुमपश्चिम, पुस ५ गते । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमका विभिन्न स्थानमा खसेको पहिरो वर्ष दिनसम्म पूर्ण रूपमा नहटाउँदा दुर्घटनाको जोखिम रहेको छ । गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले सडक चिरा पारेको थियो भने केही स्थानमा पहिरो गएको थियो । त्यसपछि वर्षाका कारण पनि सडकका विभिन्न स्थानमा पहिरो गएको थियो । करिब एक दर्जन स्थानमा खसेको पहिरो अझैसम्म पूर्ण रूपमा पन्छाइएको छैन ।
सानीभेरी गाउँपालिका–१ को चाइनाबगर, वडा नं. २ को गिठाकोट, वडा नं. ७ को सहरे, वडा नं. ९ को खारखोला, मुसीकोट नगरपालिका–१४ को छिवाङजिउला, वडा नं. ३ को खरखरेलगायतका स्थानको पहिरो अझैसम्म पूर्ण रूपमा हटाइएको छैन । तत्कालीन अवस्थामा सडकको एकातर्फको भागबाट यातायातका साधन आवजावतका लागि पहिरोको केही भाग हटाइए पनि वर्षदिनसम्म राजमार्गको पहिरो यथावत् रहेको सानीभेरी गाउँपालिका–९ का नारायण ओलीले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा पटक पटक दुर्घटनासमेत हुने गरेका छन् । सडकको आधी भाग ओगटेको पहिरो पन्छाउन कोहीकसैको पनि चासो नरहेको तर दुर्घटना निम्त्याउने जोखिम बढेको उहाँको भनाइ छ ।
रुकुमपश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले लामो समयसम्म राजमार्गको पहिरो पूर्ण रूपमा नहटाउँदा दुर्घटनाको जोखिम रहेको उल्लेख गर्नुभयो । यस विषयमा सम्बन्धित निकायलाई यथाशक्य पहिरो पन्छाउन निर्देशन दिइसकेको उहाँले बताउनुभयो । बाटो चलेकै त छ भनेर बेवास्ता गरिएमा दुर्घटना हुन सक्ने भएकाले राजमार्गलाई चुस्त राख्न आवश्यक रहेको उहाँको भनाइ छ । यस विषयमा सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले तत्कालै सडकको पहिरो हटाइने बताउनुभयो । केही स्थानमा चट्टान नै झरेको कारण सोही अनुसारको उपकरण प्रयोग गर्नुपर्ने भएकाले ढिलाइ भएको उहाँको भनाइ छ । करिब एक हप्ताभित्रै सबै पहिरो पूर्ण रूपमा पन्छाइसक्ने डिभिजन प्रमुख शर्माले उल्लेख गर्नुभयो । चट्टानबाहेकका स्थानको पहिरो भने तुरुन्तै हटाउने गरी आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
मध्यपहाडी राजमार्गको ६७ किलोमिटर सडकखण्ड रुकुमपश्चिममा रहेको छ । त्यसमध्ये ६१ किलोमिटर सडकखण्ड डिभिजन कार्यालयलाई हस्तान्तरण भइसकेको छ । मुसीकोट नगरपालिकाको साँखधुरीदेखि रुकुमपूर्वको सिमाना खोपीचारसम्मको छ किलोमिटर क्षेत्रमा ठेक्का लागेर काम भइरहेको छ । यो क्षेत्रको किटनीमा कडा चट्टान र ठुलो पहिरोको जोखिम रहेकाले तीव्र रूपमा काम हुन सकेको छैन ।