गुणबहादुर रोका
सुलीकोट, पुस ४ गते । गोरखाको पालुङटार नगरपालिका – ९ ढुङ्गेटारीमा नौ महिना अघि नै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । पालुङटार नगरपालिका – ९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साइड इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ढुङ्गेटारीको दुई खोला दोभानमा मोटरेबल पुल निर्माणका लागि श्री गणेश अमृत निर्माण सेवा जेबीसँग २०८० साल चैत १२ गते सम्झौता भई २०८२ साल असोज २६ गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइए पनि निर्माण कम्पनीले द्रुत गतिमा काम गरेकाले झण्डै नौ महिना नपुग्दै ९० प्रतिशत काम सम्पन्न भएको हो । उक्त पुल पालुङटार नगरपालिका – ९ ढुङ्गेटारी खोलामा बन्ने मोटरबेल पुलको लम्बाइ २५ र चौडाइ ८.४० मिटर छ ।
निर्माण कम्पनीले मोटरेबल पुल निर्माणका लागि समयमा आवश्याक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिकसहितको टोली व्यवस्थापन गरिएकाले पनि डेढ वर्षमा सक्नुपर्ने काम नौ महिनामा सम्पन्न हुने भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुवेदीले बताउनुभयो ।
निर्माण कम्पनीले यही गतिमा गयो भने २०८१ साल फागुनभित्र पुल निर्माण सम्पन्न हुने विश्वास लिइएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच दुई करोड ७५ लाख ९० हजार १२५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
पालुङटार नगरपालिका, गोरखा नगरपालिका र तनहुँको आँबुखैरनीलाई व्यावसायिक केन्द्र हुने गरी पुल निर्माण भएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनको भनाइ छ । उक्त पुल निर्माण भएपछि गोरखा सदरमुकाम पुग्न पालुङटारवासीलाई गोरखा सदरमुकामसम्म ४५ मिनेटमा पुगिने भएको पालुङटार – ९ का स्थानीय युवा दीपक अधिकारीले बताउनुभयो ।
पालुङटार नगरपालिकाका स्थानिय किसानहरुले उत्पादन गरेको लिची, उखु र अदुवा गोरखा सदरमुकाम, चितवन, तनहुँ, पोरखरा र काठमाडौंसम्म सजिलै लान सकिने भएको पालुङटार नगरपालिकाले जनाएको छ ।
उक्त पुल निर्माण सम्पन्न भएपछि पालुङटारमा उत्पादन भएका कृषि उत्पादनहरु सहजै बजारसम्म बिक्री वितरण गरी आम्दानी गरी नगरवासीको आर्थिक उपार्जनमा टेवा पुग्ने पालुङटार नगरपालिका – ९ का वडा अध्यक्ष भेषराज पाण्डेले बताउनुभयो ।
अहिले उक्त पुलमा माटो फिलिङ गरी एप्रोच रोड बनाउन र पुलमा रेलिङको मात्र काम बाँकी रहेको साइड इन्जिनियर श्रेष्ठको भनाइ छ । पुल निर्माणका लागि स्थानीय सडक पुल निर्माण कार्यक्रमअन्तर्गत स्थानीय पुल सपाेर्ट युनिट र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड को अप्रेशनको प्राविधिक सहयोगमा काम भइरहेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।