शालिग्राम नेपाल
चितवन, पुस ४ गते । मुग्लिङ–मलेखु सडकखण्डको कृष्णभिरमा प्राविधिकको अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा मात्र विस्तारको काम हुनेभएको छ ।
चौबिस वर्षअगाडि पहिरो गएर समस्या भएको कृष्णभिरमा अहिले पनि पहिरोको जोखिम कायमै रहेपछि प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर मात्र के कति मात्रामा पहाड काट्ने भन्ने निर्णय हुने छ ।
२०५७ साल साउनमा आएको पहिरोले कृष्णभिरमा केही हप्ता सवारीसाधन चल्न बन्द भएको थियो । पुरानो सडकको क्षेत्र पुरिएपछि नयाँ स्थानबाट सडक निर्माण गरिएर बाटो खुलाइएको थियो । त्यही स्थानमा सडक भासिएर पहिरो जान थालेपछि पछिल्लो अवस्थाको बारेमा अध्ययन गरेर मात्र पहाड काट्ने निर्णय लिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिमखण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो । अबको दुई महिनापछि अध्ययन प्रतिवेदन आउँछ, त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ, सूचना अधिकारी मिश्रले बताउनुभयो । पहिरो रोक्न प्राकृतिक रोकथाम गरिएको छ । बिनाअध्ययन पहाड खन्दा समस्या आउन सक्छ, त्यसैले पर्खेका छाँै, उहाँले भन्नुभयो ।
कठिन स्थानमा विस्तार गर्न ढिलाइ
विस्तार कार्य भइराखेको पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिङ सडकखण्ड अन्तर्गत पश्चिम क्षेत्रको विभिन्न स्थानमा ठुला पहाड भएका कारण छिटो काम गर्न समस्या भएको छ । फिसलिङ, कुरिनटार, मुग्लिङ, मलेखुलगायतका बस्ती भएको स्थानमा सडक विस्तार गर्न कुनै समस्या छैन । अन्य स्थानमा भने ठुला पहाड कटान गर्न कठिन भएको कारण कामको प्रगति सुस्त भएको सूचना अधिकारी मिश्रले भन्नुभयो । बर्सातले गर्दा असार, साउन, भदौ र असोज महिनामा काम रोकिएको थियो । चार महिनामा साना मसिना काम भएपछि विस्तारको काम भने अघि नबढेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
कात्तिक महिना लागेपछि विस्तारलाई अगाडि बढाइएको थियो । मुग्लिङदेखि मलेखुसम्मको ४० किलोमिटर सडकको विस्तारको कामको निरीक्षण नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिमखण्ड) ले लिएको छ । यस कार्यालयको क्षेत्रमा छ वटा ठुला पुलको निर्माण कार्य जारी रहेको छ । छ वटै पुलको पिल्लर उठेको छ ।
डेडिकेटेड डबल लेनमा विस्तार गर्ने यो सडक मुग्लिङ नारायणगढको जस्तै चौडाइ रहने छ । बजार क्षेत्रमा भने चार लेनको निर्माण गरिने छ । साँघुरो स्थानमा कम्तीमा नौ मिटर फराकिलो बनाइने छ । अन्य स्थानमा चार लेनको बनाइने गरी दायाँबायाँको अवरोध हटाउने काम भइरहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । अहिलेसम्म निर्माणको प्रगति हेर्दा १७ प्रतिशत सम्पन्न भएको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ । नागढुङ्गादेखि मुग्लिङसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति भइराखेको छ । पश्चिम क्षेत्रमा भने ४० किलोमिटरको काम रहेको छ । बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ ।
पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्दैछन् । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिने छन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिङमा आकाशे पुल निर्माण गरिने छन् । यस क्षेत्रको ठेक्का सम्झौता अनुसार चार अर्ब ८० करोड रुपियाँको लागतमा निर्माण हुने छ । मुग्लिङ–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भएकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ ।