राजु लामिछाने
रुकुमपश्चिम, पुस १ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –२ कुनाखेतमा एक पुरुषको शव फेला परेको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका –५ हुकाम घरभइ हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ पातुखोला बस्ने ४७ वर्षिय लिलाबहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सो स्थानमा यहाँको चर्चित कुनाखेल मेला चलिरहेको छ । केही दिनअघिबाट खेलकुद लगायतका कार्यक्रम सञ्चालन भएता पनि आज मुख्य मेला लाग्ने गर्दछ ।
मेला हेर्न भनेर गएका घर्तीको शव मेला लाग्ने स्थानभन्दा करिब तीनसय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी किनारमा उक्त शव फेला परेको हो ।
शव फेला परेको सूचनालगत्तै प्रहरीचौकी बाँफिकोटबाट प्रारम्भिक अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक बिष्णु चौधरीको कमाण्डमा एक प्रहरी टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको छ । घर्तीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।