• १ पुस २०८१, सोमबार

भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छः उर्जामन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ।

काठमाडौं, पुस १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताउनुभएको छ ।

मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताउनुभएको हो । मन्त्री खड्काले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै हिँउदमा विद्युत् आपूर्ति सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताउनुभयो ।

उहाँले गत वर्षको बाढीले जलविद्युत् आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीका कारण लोडसेडिङ हुन नदिनका लागि भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताउनुभयो ।

मन्त्री खड्काले गत वर्षभन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताउनुभयो । उहाँले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताउनु भयो ।

उहाँले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताउनुभयो । उहाँले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भए पनि सकेसम्म हुन नदिने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग बृहत् छलफल भएर सुख्यायाममा साढे ६ सय मेगावाट विद्युत् खरिद गर्ने निर्णय भयो । पुसदेखि लागू गर्दछौं । गत वर्षको बाढीले जलविद्युत् आयोजनाहरुमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरुको निर्माणमा तीव्रता दिएका छौं । विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ ।,’’ मन्त्री खड्काले भन्नुभयो, ‘‘गत वर्षभन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्नेछ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौं । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ । भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ । उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुई घण्टामा छोट्याउन सक्छौं ।’’

उहाँले भारतबाट नेपालले नौ सय मेगावटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावट आपूर्ति गरिने बताउनुभयो । उहाँले नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताउनुभयो ।