हरिप्रसाद कोइराला
उर्लाबारी, पुस १ गते । मोरङको रङ्गेली–८ दर्बेसामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपद् केन्द्र) निर्माण गरिने भएको छ । मोरङका धनपालथान, कानेपोखरी गाउँपालिका र रङ्गेली र सुनवर्षी नगरपालिका क्षेत्रलाई लक्षित गर्दे विपद व्यवस्थापनका लागि एकीकृत रुपमा विपद् व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको हो ।
केन्द्रको मुख्य भवनको आइतबार जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा ठाकुुर, रङ्गेली नगरपालिकाका नगरप्रमुख दिलीप अग्रवाल, सुनवर्षीे नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।
रङ्गेली नगरपालिकाकी उप प्रमुख भुमा पराजुलीले रङ्गेली नगरपालिकालाई केन्द्र बनाई चारै पालिकामा हुने विपद् नियन्त्रणका लागि केन्द्रको स्थापना गर्न लागिएको बताउनुभयो । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि करिब एक वर्ष अघि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेर त्रिपक्षीय सम्झौता भएको थियो । केन्द्र निर्माणका लागि रङ्गेली नगरपालिकाले १२ कट्ठा जग्गा उपलब्ध गराएको छ ।
अत्यावश्यक सेवा केन्द्रमा चारवटै पालिकाका वारुणयन्त्र, आवश्यक पानीको भण्डारण,अग्निनियन्त्रक जनशक्ति, उपकरण र विपद व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीहरू तारजाली, ढुङ्गा, गाडी, बाढीमा बगेकालाई उद्दार गर्न बोटिङको प्रबन्ध गरिनेछ ।
रङ्गेली नगरपालिकाका नगर प्रमुख दिलीपकुमार अग्रवालका अनुसार प्रदेश सहयोग कार्यक्रम अन्तर्गत २करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको ६ करोड २५ लाख २९ हजार र चारवटै पालिकाले १ करोड ८५ लाख रुपियाँ निर्माणका लागि लगानी गर्ने सहमति भएको छ ।
२०८१ को जेठ २८ गते ब्राइट बुल निर्माण सेवासँग निर्माणको सम्झौता भएपनि ६ महिनापछि भवनको शिलान्यास भएको छ । मूल्य अभिवृद्धि करसहित ९ करोड ३३ लाख ८१ हजार ५५५ रुपियाँ ११ पैसामा निर्माण हुने विपद् केन्द्रको पुरै संरचना निर्माणको काम २०८२ को पुस ३० गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ ।