अमरराज नहर्की
तनहुँ, पुस १ गते । शिक्षण पेशा छोडेर तनहुँकी एक महिला कृषिमा रमाउनुभएको छ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले कृषि पेशाबाट नाम र दाम दुबै कमाउनुभएको हो ।
गौलीले कृषि पेशाबाट वार्षिक रुपमा २० लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । गौली २०४५ साल देखि २०६१ सालसम्म १६ वर्ष शिक्षण पेशामा लाग्नुभएको थियो । प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराउनुभएकी गौलीले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यावसायिक खेती गर्नुभएको छ ।
प्रकृति र माटोलाई पुज्दै, यही क्षेत्रलाई साधना केन्द्रको रुपमा स्थापित गराउन कृषि पेशामा लागेको गौलीको भनाइ छ । वार्षिक रु २० हजार बुझाउने गरी नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेको गौलीले जानकारी दिनुभयो ।
विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा ड्रागनका बिरुवा रोपेर शुरुवात गर्नुभएको थियो । उहाँले गत वर्षमा रु. १२ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गर्नुभएको थियो । प्रतिकिलो पाँच सय देखि छ सय रुपियाँसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएको गौलीले बताउनुभयो ।
गौलीले दुई वर्ष अघि भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाउनुभएको छ । करिब डेढ करोड रुपियाँ लगानी गरेको गौलीले जानकारी दिनुभयो । फार्ममा ड्रागन फ्रुटका साथै मौसम अनुसार तरकारीहरु कुरिलो, गिठा, भ्याकुर, पिँडालु, अदुवा, कुभिण्डो, सिस्नाेलगायतको खेती गर्नुभएको छ । यस वर्ष ड्रागन फल १६ लाख र बिरुवा चार लाख गरी २० लाखको बिक्री गरेको गौलीले बताउनुभयो ।
प्रति बिरुवा एक सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । गौली घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष हुनुहुन्छ । गौलीले भन्नुभयाे, " धैर्यपूर्वक कृषिकर्मलाई पूजाको रुप दिई व्यवसाय गरिन्छ भने नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ ।"