ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस १ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एक्लै निर्वाचन लड्ने तागत माओवादीसँग भएको बताउनुभएको छ । पछिल्लो स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम हेर्दा गठबन्धन भन्दा एक्लै निर्वाचनमा जाँदा माओवादीलाई जनताको साथ मिलेको उहाँको भनाइ छ ।
सोमबार बेनी आउनुभएका उपमहासचिव पुनले पार्टी कार्यकर्तालाई समसामायिक राजनीतिक विषयमा प्रशिक्षण दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा जाँदा एमाले वा कांग्रेस कुनै एक नभई नहुने, एक्लै निर्वाचनमा जाने कुरा सोच्नै नसक्ने अवस्थामा पुगेका थियौं । तर पछिल्लो उपनिर्वाचनले एक्लै निर्वाचन लड्न सक्ने तागत माओवादीसँग भएको पुष्टि गरिदियो ।’’
माओवादीको मुद्दालाई जनताले साथ दिएकाले उपनिर्वाचनमा एक्लै सफलता मिलेको उहाँको भनाइ थियो । ‘‘उपनिर्वाचनमा समग्र रुपमा हामी दोस्रो भयौं । एक्लै हुँदा लोकप्रिय मतमा हामी पहिलो हुँदारहेछौं । एक्लै हुँदा सिटमा दोस्रो भयौं, कांग्रेस, एमालेसँग मिलेर निर्वाचन लड्दा हामी तेस्रो भयौं,’’ उहाँले भन्नुभयो । माओवादीलाई अब निर्वाचनमा गठबन्धन आवश्यक नभएको उहाँले बताउनुभयो ।
उपनिर्वाचनलाई हेर्दा अब माओवादी एक्लै निर्वाचन लड्न सक्ने तागत हासिल गरेको उहाँले दाबी गर्नुभयो । गठबन्धनको मानसिकता त्याग्न उहाँले कार्यकर्तालाई अनुरोध गर्नुभयो ।