• १ पुस २०८१, सोमबार

तीन स्रष्टा र एक सामाजिक संस्थालाई सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन स्रष्टा र एक सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । कवि दैवज्ञराज न्यौपानेको ८३ औँ जन्मजयन्ती र १३ औँ स्मृति दिवसका सन्दर्भमा प्रतिष्ठानद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा तीन स्रष्टा र एक सामाजिक संस्थालाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाजसेवा पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा दैवज्ञ विशिष्ट स्रष्टा सम्मान ५५ हजार ५५५ रुपियाँसहित गीतकार कालीप्रसाद रिजाल, दैवज्ञ साहित्य पुरस्कार ३३ हजार ३३३ रुपियाँसहित कवि श्रीकृष्ण न्यौपाने र दैवज्ञ बालसाहित्य पुरस्कार ३३ हजार ३३३ सहित बालसाहित्यकार प्रा. प्रभा भट्टराईलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको हो । त्यसै गरी दैवज्ञ समाजसेवा पुरस्कार विराटनगरस्थित परोपकार अभियानका अभियानकर्मी बाबुराम न्यौपानेलाई ३३ हजार ३३३ सहित सम्मान गरिएको हो । प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले सम्मानित र पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्दै करिब पाँच सयभन्दा बढी गीत रेकर्ड गराएका गीतकार कालीप्रसाद रिजालले कविता र गीतका थुप्रै कृति लेखेर योगदान दिनुभएको बताउनुभयो । त्यसै गरी कवि न्यौपानेले मोफसलमा बसेर आञ्चलिक सुगन्धसहितका साहित्य रचना गर्दै स्थानीय सर्जकका लागि मञ्च उपलब्ध गराउने विविध गतिविधि गरिरहेको बताउनुभयो । उहाँले प्रा. भट्टराईले बालबालिकालाई साहित्यप्रति झुकाव बढाउन कृतिमार्फत योगदान पु¥याइरहेको बताउनुभयो । परोपकार अभियानका अभियन्ता बाबुराम न्यौपानेले विगत २४ वर्षदेखि समाजसेवाका विविध गतिविधि गर्दै आइरहेको बताउनुभयो । उहाँले आफूले जागिरे जीवनदेखि नै सुरु गरेको समाजसेवाको काममा अहिले थुपै्र स्थानीयको सहयोग पाएको र इमानदारीपूर्वक काम गरे सबैको साथ सहयोग पाइने अनुभव बटुलेको बताउनुभयो । 

बालसाहित्यकार प्रा. भट्टराईले आफ्ना गुरु दैवज्ञराज न्यौपानेले पढ्ने क्रममा दिनुभएको सहयोग र सल्लाहले नै साहित्य क्षेत्रमा अगाडि बढेको स्मरण गर्नुभयो । प्रतिष्ठानका उपाध्यक्ष लालानाथ सुवेदीले कवि दैवज्ञराजको साहित्यिक योगदानको चर्चा, प्रचारका साथै विभिन्न सर्जकको हौसला बढाउन पुरस्कार, सम्मान र पुस्तक प्रकाशन गर्दै  प्रतिष्ठानले उहाँलाई स्मरण गर्दै आएको बताउनुभयो ।