महोत्तरी समाचारदाता
महोत्तरी, पुस १ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको स्तरोन्नतिको काम कागजमै सीमित भएको छ । जसका कारण यस क्षेत्रका बासिन्दालाई उपचारका लागि थप समस्या हुने गरेको छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा नवनिर्मित टिकट काउन्टर तथा फार्मेसी भवनको उद्घाटन गर्दै जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले सङ्घीय सरकारले अस्पतालको स्तरोन्नति कागजमै सीमित गरेको आरोप लगाउनुभयो । उहाँले यस क्षेत्रका बासिन्दाको उपचारका लागि सदैव भरपर्दो रहेको प्रादेशिक अस्पताल जलेश्वरलाई प्रदेश सरकारले मात्रै नभई सङ्घीय सरकारले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले जलेश्वर अस्पताललाई एक सय शय्याको अस्पतालमा कागजमा स्तरोन्नति गरे पनि जनशक्तिलगायत व्यवस्थापकीय सहयोग नगर्दा सेवाग्राही उपचारका लागि बाहिर जानुपर्ने अवस्था भएको बताउनुभयो । प्रादेशिक अस्पताल कागजमा एक सय शय्या रहे पनि १५ शय्याको स्थायी दरबन्दी तथा ५० शय्याको अस्थायी दरबन्दी मात्रै रहेको छ । त्यसमा पनि सबै दरबन्दी पूर्ण रूपमा छैनन् ।
हालै चार जना विशेषज्ञ चिकित्सकले पदबाट राजीनामा दिँदा अस्पतालका विभिन्न सेवा अवरुद्ध हुन पुगेको बताइएको छ । यस्तो अवस्थाले बिरामी उपचारका लागि बाहिर जानु परिरहेको बताउँदै नगरप्रमुख सोनारले भन्नुभयो, “यस क्षेत्रका बासिन्दालाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि तत्काल केही प्रयास हुने भएको छ ।” अस्पतालको इमर्जेन्सीमा चिकित्सक नबस्ने, एम्बुलेन्स सधैँ बिग्रिनेलगायतका समस्या तथा गुनासो आफूहरूलाई आउने गरेको बताउँदै उहाँले अस्पतालबारे महोत्तरीका सङ्घीय तथा प्रदेश सभासद सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अस्पतालले बिरामीको सघन उपचारमा ध्यान दिन आग्रह गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले इमानदारीपूर्वक सेवा दिन आग्रह गर्नुभयो । अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट निर्माण गरिएको तीनकोठे भवनबाट हाल टिकट काउन्टर, सःशुल्क निःशुल्क तथा सामाजिक सेवा एकाइका औषधीसमेत एकै ठाउँबाट वितरण गरिने सो अवसरमा जानकारी दिइयो । यसभन्दा अगाडि बिरामीले अलग अलग ठाउँमा पुग्नुपर्ने बाध्यता थियो ।