बोमलाल गिरी
नवलपुर, पुस १ गते । सङ्घीय र प्रदेश सरकार परिवर्तन भएर नयाँ नेतृत्वमा आउने प्रायः मुख्यमन्त्री तथा मन्त्रीले गण्डकी प्रदेशको दैनिक जीवनसँग जोडिएको नवलपुरको दुम्कीबास–त्रिवेणी नाका अवलोकन गर्ने गरेका छन् । हालसम्म जो जतिले यो नाका अवलोकन गरेका छन्; ती सबैले भन्ने गरेका छन्, “नाका खोल्न पहल गर्छु ।” हालसम्म यसले मूर्त रूप भने लिन सकेको छैन, केवल कुरामै सीमित भएको छ ।
विसं २०६२ देखि सुरु गरिएको उक्त सडकखण्डको ट्र्याक २०६३ सालमा पूरा भएको थियो । २० किलोमिटरको उक्त सडकखण्डमा २०६३ साल फागुनमा सवारीसाधन पनि चलेका थिए तर थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन चल्न सकेनन् । पानी र पहिरोले बाटो बिगा¥यो । पछिल्ला दिनमा खनिसकेको बाटोको निसाना पनि मेटिँदै जान थालेको छ ।
हुलाकी सडकखण्डले चिनिने उक्त बाटो २०६३ सालमा गजेन्द्र मोक्षधामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित तत्कालीन १४ गाविसका बासिन्दा मिलेर ट्र्याक खोली निर्माण सुरु भएको थियो । स्थानीयवासीले आफूहरूलाई लुम्बिनी प्रदेशमा गाभिदिन आग्रह गर्दै बाटो सञ्चालनमा नल्याए प्रदेश परिवर्तनको माग राखेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विनयीत्रिवेणी–६ का पाण्डवराज घिमिरेले आफ्नै पालिकामा जान पनि अर्कै जिल्ला, अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता रहेको सुनाउनुभयो । घिमिरेले प्रश्न गर्नुभयो, “अहिले पो कुनै समस्या छैन, भोलि प्रदेशले कडाइ गर्दै जाँदा हामी त आफ्नै पालिका जानका लागि पनि कर तिरेर जानुपर्ने अवस्था आउन सक्छ । खै हाम्रो आफ्नै बाटो ?”
उहाँले सरकारले तत्काल पहल गरेर यो नाका खोल्नुपर्ने र खोल्न नसक्ने हो भने आफूहरूलाई गण्डकी प्रदेशमा भएको आभास हुन नसकेकाले लुम्बिनी प्रदेशमा गाभिदिनुपर्ने बताउनुभयो । विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले पनि आफ्नो पालिकाको ६ र ७ नं. वडाका बासिन्दाले लुम्बिनी प्रदेशमा राख्न आन्दोलन नै गर्ने आवाज उठाउन थालेको र उक्त माग जायज रहेको बताउनुभयो ।
पालिकाको पहलमा दुम्कीबासदेखि बगुवनसम्मको आठ किलोमिटरसम्म गाडी गुड्ने बाटो बनेको छ । बगुवनबाट त्रिवेणीको गजेन्द्र मोक्षधाम जाने आठ किलोमिटर बाटो बन्न सकेको छैन । गजेन्द्र मोक्षधामबाट चार किलोमिटरको दुरीमा भारतीय सीमा भैँसालोटन छ; जुन कुनै समय निकै व्यस्त रहने भन्सार नाका थियो । यही आठ किलोमिटर बाटो बन्न नसक्दा त्रिवेणीका बासिन्दा आफ्नै गाउँपालिका जान वा जिल्ला सदरमुकाम कावासोती र प्रदेशको राजधानी आवतजावतका लागि लुम्बिनी प्रदेशको नवलपरासी भएर ६० किलोमिटर लामो बाटो हिँड्नुपर्ने बाध्यता छ ।
विनयीत्रिवेणीका स्थानीय योगिता सहनीले यो नाका नखुल्दा बिरामी पर्दा निकै सास्ती खेप्नु परेको बताउनुभयो । बिमा गरेका बिरामी जिल्ला अस्पताल जान नसकेर सुविधाबाट वञ्चित हुनु परेको उहाँले दुःखेसो गर्नुभयो । सहनीले भन्नुभयो, “पाँच मिनेटमा भारतको विहार पुगिन्छ । त्यहाँ कुनै सुविधा पाइँदैन तर मध्यविन्दु जिल्ला अस्पताल डन्डा जानका लागि एक दिन लाग्छ । गम्भीर अवस्थाका बिरामी बाटैमा मर्नुपर्ने अवस्था छ ।”
जुनसुकै सरकार बने पनि आश्वासनबाहेक केही नदिएको उहाँको भनाइ छ । “जो जो मुख्यमन्त्री र मन्त्री भए पनि घुर्र मोटरमा आउनुहुन्छ, हेरेर फर्किहाल्नुहुन्छ, बाटो कहिले बनाउने ? हामीलाई भोट बैङ्क मात्र कहिलेसम्म बनाइराख्ने ?” आक्रोशित हुँदै सहनीले प्रश्न गर्नुभयो ।
यो नाका दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्ने त्रिदेशीय नाका भएकाले गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ । त्रिवेणीको आठ किलोमिटरमध्ये केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीबास सडकखण्ड बन्न सकेको छैन ।
त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसाल यो नाका खुलाउन सके गण्डकी प्रदेशका लागि मात्र नभए समग्र मुलुककै लागि प्रभावकारी हुने र लाभ दिन सकिने बताउनुहुन्छ । यो अन्तर्राष्ट्रिय सीमासँग जोडिएको विषय भएकाले सङ्घीय सरकारले नै पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
विनयीत्रिवेणी–७ का वडाध्यक्ष उमेश कार्कीले यो बाटो नबन्दा लुम्बिनी प्रदेशको एउटा नगरपालिका र दुई वटा गाउँपालिकाको ६० किलोमिटर घुमेर आफ्नो पालिका जानुपर्ने बाध्यता रहेकाले सुगम ठाउँमा भएर पनि दुर्गमको जस्तो अनुभूति भएको बताउनुभयो ।
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बाटो नबन्ने कुनै कारण नभएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको काम गर्दा युनेस्कोको स्वीकृति लिनुपर्ने हुन्छ, जुन प्राप्त भइसकेको छ । अध्यक्ष गिरीले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग, युनेस्को, अख्तियार सबै तिरबाट बाटो बनाउन अनुमति प्राप्त भइसकेको छ । बाटोमा कतै रुख पनि पर्दैनन्, बाटो सफा गरे मात्र पनि हुन्छ ।”
त्रिवेणी नाका अवलोकनमा आएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले स्थानीयको माग जायज रहेको बताउनुभयो । यो नाका तत्काल खोल्न आवश्यक रहेको भन्दै मन्त्री केसीले यस विषयमा मुख्यमन्त्रीसँग पनि परामर्श गरेर सङ्घीय सरकारलाई घच्घच्याउने प्रतिबद्धता जनाउनुभयो ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, खगराज अधिकारी, सुरेन्द्र पाण्डे र यातायातमन्त्री प्रकाशबहादुर केसीले यो नाकाको निरीक्षण गरिसक्नुभएको छ ।
यो सडकखण्ड सञ्चालनमा आए त्रिवेणीधामबाट दुम्कीबास आउन अहिले प्रयोग हुने गरेको समयको ७५ प्रतिशत बचत हुने बताइएको छ । भारतसँग सहजै जोडिन सक्ने र भन्सारसमेत सञ्चालन हुने भएकाले यसलाई विशेष चासो दिएर पक्की सडक बनाउन स्थानीयको माग छ ।