• १० वैशाख २०८२, बुधबार

खानेपानी आउन थालेपछि स्थानीय दङ्ग

blog

नवलपरासी समाचारदाता

डाँडाझेरी (नवलपरासी), पुस १ गते । जन्मेदखि नै कुवाको पानी खान बाध्य बुलिङटार डाँडाझेरी धौवादीका ६७ वर्षीय नरवीर मस्राङ्गीमगर पहिलो पटक घरमै खानेपानीको धारा पुगेपछि दङ्ग पर्नुभएको छ । उहाँ मात्रै होइन, यस गाउँका बासिन्दा घरमै खानेपानी धारा पुगेपछि विगतको पीडा सम्झँदै  खुसी भएका छन् । पूर्वी नवलपरासीको पहाडी बुलिङटार डाँडाझेरी धौवादीका सात टोलमा सात करोड ४५ लाख रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको वडाध्यक्ष कमल मगरले बताउनुभयो । 

हालै निर्माण सम्पन्न भएको डाँडाझेरी खानेपानी आयोजनाबाट वडाभित्रका सात टोलका ६४३ घरधुरीका झन्डै चार हजार ४४३ बासिन्दा प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष मगरले बताउनुभयो ।

जीवनभरि कुवाको खानेपानी खाएर बाँच्न विवश यहाँका स्थानीयले घर घरका आँगनमा निर्माण भएका धारामा पानी आउन थालेपछि डाँडाझेरी धौवादी गाउँका बासिन्दामा खुसी छाएको उपभोक्ता समितिका अध्यक्ष नरवीर मस्राङ्गीमगरले बताउनुभयो ।

अहिलेसम्म कुवाको खानेपानी खान बाध्य यहाँका १०४ भन्दा बढी व्यक्तिमा लठ्यौरोपना, गलगाँड जस्ता विभिन्न रोग लागेको जानकारी उहाँले दिनुभयो । पानीकै कारण कतिपय बालबालिकाको सानै उमेरमा मृत्यु हुने गरेको समेत स्थानीय समाजसेवी प्रेमसिंह लुङ्गेलीमगरले बताउनुभयो ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा निर्माण भएको सो खानेपानी आयोजना यस क्षेत्रको नमुना आयोजना बनेको छ । खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका बासिन्दाले खेर गएको पानीबाट तरकारीसमेत उत्पादन गर्ने गरेका गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । जिल्लाको काफलडाँडा, मथार, पिपलछाप, रुचाङलगायतका टोलमा खानेपानी अझै व्यवस्थित हुन नसकेको स्थानीय गुञ्जबहादुर आलेले जानकारी दिनुभयो ।