बुटवल समाचारदाता
बुटवल, पुस १ गते । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले अब मन्त्रीपरिषद् बैठकबाट गुरुयोजना पारित गरी कार्यान्वयनमा लगिने बताउनुभयो । मन्त्री ढकालले प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माणका क्रममा बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्ने गरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले कार्यान्वयन चरणमा रहेकामध्ये आठ वटा पक्की पुल, २० किलोमिटर सडक कालोपत्रे, दुई वटा झोलुङ्गे पुल चार महिनाको अवधिमा सम्पन्न गरेको जनाएको हो ।
मन्त्री ढकालले समेत असारे विकास प्रवृत्तिलाई निरुत्साहित गर्न जेठ महिनाभित्र निर्माणको काम सक्ने गरी मन्त्रालयलाई निर्देशन दिएको बताउनुभएको छ । जस अनुसार चालु आवमा विनियोजन भएका सबै आयोजनाको काम जेठ महिनाभित्र सम्पन्न गर्ने गरी कार्यसम्पादनको काम अघि बढेको हो । मन्त्रालयले कार्यान्वयन गर्ने चालु आवमा दुई हजार १२० योजना छन् । जसमध्ये बहुवर्षीय आयोजनाका रूपमा ८४ वटा आयोजना प्रस्तावित रहेको मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार चार महिनाको अवधिमा ३८ वटा आयोजना सम्पन्न भइसकेका छन् भने कार्यान्वयनको चरणमा ७७९ वटा आयोजना रहेका छन् । आयोजनामध्ये २८९ वटा आयोजना अब कार्यान्वयनमा लैजाने अन्तिम तयारी छ ।
चालु आवको पहिलो चार महिनामा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यसै गरी १० किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ भने छ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको सचिव पाण्डेले जानकारी दिनुभयो । त्यसै गरी २४ किलोमिटर सडक विस्तार गरिएको छ भने छ किलोमिटर सडक ग्राभेल गरिएको छ ।