• १ पुस २०८१, सोमबार

कमैया बस्तीमा नमुना विद्यालय

blog

शक्तिदेवी आधारभूत नमुना विद्यालय ।

टीकापुर समाचारदाता

टीकापुर, पुस १  गते । बस्तीका बिचमा चिटिक्क परेको, पर्खालले घेरिएका भवन छन् । गेटभित्र लहरै अशोकका बिरुवा देखिन्छन् । हरेक बिरुवासँगै व्यक्तिको नाम लेखिएको छ । आँगनमा सफा चौर छ  । खानका लागि तातो चिसो पानीको व्यवस्था छ । साना नानीका लागि खेल्ने प्रशस्तै सामग्री छन् । भवनका भित्तामा प्रेरणदायी व्यक्तिका भनाइ लेखिएका छन् ।

यो झलक टीकापुर नगरपालिका–१, शक्तिनगर मुक्त कमैया बस्तीस्थित शक्तिदेवी आधारभूत विद्यालयको हो । यहाँ मुक्त कमैयाका बालबालिका पढ्छन् । अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भए पनि घरमा भएका अभिभावक बालबालिकालाई बिहान विद्यालय पु¥याउन र छुट्टी हुने बेला लैजान विद्यालयमै पुग्ने गरेका छन् । बालबालिकाले खेल्दै सिक्न ७२ थान ट्याब छन् । दुई लाख रुपियाँ बराबरका खेल्ने सामग्री छन् । शैक्षिक गुणस्तर बढाउन शिक्षकलाई जिम्मेवार बनाइएको छ । विद्यार्थीको क्षमता बढाउने साप्ताहिक रूपमा अतिरिक्त व्रिmयाकलाप हुने गरेका छन् । शिक्षक, व्यवस्थापन समितिका अध्यक्षले आफ्नै नाममा एउटा बिरुवा रोप्नुपर्ने र हुर्काउनुपर्ने नियम छ । विद्यालयमा पढ्ने वातावरण राम्रो भएकाले यहाँका बालबालिका पढाइमा राम्रो देखिएका छन् ।

दस वर्षअघिको विद्यालय

टीकापुर हवाई मैदानबाट सारिएको मुक्त कमैया बस्तीसँगै विद्यालय पनि स¥यो तर भवन थिएन । २० प्रतिशत समुदायको लगानी रहने गरी बिल्ड अन संस्थाबाट तीनकोठे भवन पाइयो तर २० प्रतिशत लगानी जुटाउन कठिन भयो । “आँगनमा खाल्डो थियो, न झ्याल न ढोकाको अवस्था थियो । सहयोग माग्दा सारै कठिन थियो, कसैले पत्याउँदैनथ्यो,” विद्यालयका संस्थापक प्रधानाध्यापक प्रेमलाल चौधरी भन्नुहुन्छ, “नयाँ प्रधानाध्यापक आएपछि जान्नेमान्ने मानिस बोलाएर ल्याउनुभयो । झ्यालढोका लगाउन र खाल्डो पुर्न सहयोग जुट्यो । उहाँले वचन हालेपछि कसैले नाइँ नभन्ने रहेछन् ।” 

स्थायी शिक्षक काशीराम ढुङ्गाना प्रधानाध्यापक भएर आएपछि सुरु भएको विद्यालय व्यवस्थापनको सिलसिला एक दशकमा पुग्दा नगरपालिकै नमुना बनेको छ । विभिन्न निकायको सहयोगमा विद्यालयमा पूर्वाधार बनेका छन् भने मन्दिर, कक्षाकोठामा पङ्खा, दराज जस्ता सामान व्यक्तिगत दातासँग मागेरै जुटाइएको छ ।  शिक्षक कर्मचारी मिलनसार, हरेक काममा प्रधानाध्यापक अग्रसर भएको देख्दा शिक्षकले पनि फुर्तिलो भएर काम गर्नुपर्ने वातावरण रहेको यसै वर्ष सरुवा भएर आएकी शिक्षक पवित्रा भण्डारीले बताउनुभयो । अभिभावक रामलाल डगौराले आफ्नो बस्तीको विद्यालयमा सबै व्यवस्था भएको, बालबालिकाले पढेको, खेलेको देख्दा वरपरका अरू विद्यालय त्यस्तै हुनुपर्छ भन्ने लागेको बताउनुभयो । 

प्रधानाध्यापक ढुङ्गाना २०७१ साउनमा आउँदा सरकारी निकायको ध्यानाकर्षण गराउन, मुक्त कमैया बस्तीको विद्यालय भएकाले अभिभावकलाई विद्यालयमा जोड्न, विद्यालयमा पढ्ने वातावरण बनाउन कठिन भए पनि सबैसँग समन्वय गर्दै जाँदा सुविधासम्पन्न नमुना विद्यालय भन्नलायक भएको बताउनुहुन्छ ।