• १ पुस २०८१, सोमबार

अर्थतन्त्र उकास्न सरकार प्रयत्नशील

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल राजधानीमा आइतबार नाडा अटोमोबाइल्सले आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण गर्नुहुँदै । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

ललितपुर, पुस १ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन प्रयत्नशील रहेको बताउनुभएको छ । उहाँले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन राज्य र निजी क्षेत्रबिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।

राजधानीमा आइतबार आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ वार्षिक साधारण सभामा मन्त्री दाहालले त्यस्तो बताउनुभएको हो । मन्त्री दाहालले मुलुकमा योजनाबद्ध पूर्वाधार विकास नहुँदा यस क्षेत्रमा समस्या देखिएको बताउनुभयो । सरकारले नीति राम्रो लिए पनि त्यसको फलो नहुँदा समस्या थपिएको उल्लेख गर्दै उहाँले यसले विकास प्रक्रियामा नै समस्या आएको बताउनुभयो । 

सरकारले आयोजना बैङ्क बनाए पनि त्यस अनुसार काम नगर्दा सो बैङ्क प्रभावकारी हुन नसकेको स्पष्ट पार्दै उहाँले यस वर्ष असोजमा आएको बाढीपहिरोबाट पाठ सिक्दै यसअघि गरिएका पूर्वाधार आयोजनाको डिजाइनबारे समीक्षा गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।

विद्युतीय सवारीमा जोड

वर्तमान सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिएको बताउँदै मन्त्री दाहालले वातावरणीय असन्तुलन बढ्दै गइरहेको अवस्थामा विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “इलेक्ट्रिक भेहिकल आजको आवश्यकता र माग पनि हो । मन्त्रालयले यसको पूर्वाधार र ‘ब्याकअप’ विकासमा जोड दिइरहेको छ । हुन त इभी नै पूरा समाधान त होइन किनभने यसका पनि धेरै प्रश्न उठेका छन् । जस्तो ‘ब्याट्री डिस्पोज’ को समस्या आज ज्वलन्त रूपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि उठेको छ ।” 

इलेक्ट्रिक भेहिकलबाट उत्पन्न समस्याको समाधानका लागि मन्त्रालय चनाखो रहेको बताउँदै उहाँले भन्नुभयो, “यसमा हामीले ध्यान दिइरहेका छौँ तर यो विषय पनि आत्तिइहाल्नुपर्ने विषय छैन । यो ग्लोबल्ली समस्या हो । यसबारे चर्चा भइरहेको छ । यसको निकास अवश्य नै निस्केला ।” विद्युतीय सवारीसाधनको प्रयोगबाट हुने समस्याको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको उहाँको भनाइ थियो ।