सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस १ गते । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ को विकट बस्ती नारायणथानकी १३ वर्षीय रेबिका थामी जन्मजात मोतीविन्दु रोगको सिकार हुनुहुन्थ्यो । उहाँले अहिलेसम्म संसार कस्तो छ भन्ने देख्न पाउनुभएको थिएन । घरआँगनमै आएको निःशुल्क आँखा शिविरमा मोतीविन्दुको शल्यक्रिया गरेपछि थामी अहिले संसार देख्न पाउँदा हर्षित हुनुहुन्छ ।
त्यस्तै बाह्रबिसे नगरपालिका–३ का ७० वर्षीय चित्रबहादुर बस्नेत लामो समयदेखि मोतीविन्दुका कारण आँखा देख्नुहुन्नथ्यो । घरनजिकै सञ्चालित आँखा शिविरमा उपचार गरेपछि बस्नेत अहिले छर्लङ्ङ आँखा देख्न सक्ने हुनुभएको छ । घरबाट शिविरसम्म परिवारको सहारामा आएका बस्नेत शल्यक्रियापछि आफैँ हिँडेर घर पुग्न सफल हुनुभएको हो ।
सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोकले आयोजना गरेको नौदिने निःशुल्क आँखा शिविरमा रेबिकाजस्तै १४२ जनाको निःशुल्क शल्यक्रिया गरिएको शिविर संयोजकसमेत रहनुभएका नेपाली कांगे्रसका नेता भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाह्रबिसे नगरपालिकामा मङ्सिर २४, २५, २६ र २७ गते चार दिन, भोटेकोशी गाउँपालिकामा २०, २१ र २२ गते तीन दिन र लिसङ्खुपाखर गाउँपालिकामा १७ र १८ गते दुई दिन निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । तीन स्थानीय तहका विकट वडामा भएको आँखा परीक्षण शिविरमा एक हजार चार सय जनाको आँखा परीक्षण गरिएको थियो ।
शिविरमा मोतीविन्दु पहिचान गरी शल्यक्रिया र औषधी वितरण गरिएको थापाले बताउनुभयो । बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । उक्त अस्पतालका डा. आशिषराम पन्तलगायतको नेतृत्वमा मोतीविन्दुको शल्यक्रिया गरिएको थियो ।