ज्ञान र सिपलाई एकै ठाउँमा जोडेर प्रदान गरिने शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ । संसारभरिका देश नै अहिले प्राविधिक शिक्षाको गोरेटोमा हिँडिरहेका छन् । आजको युगमा बौद्धिक ज्ञानको महìवसँगै सिप र प्रविधिको ज्ञान हुनु पनि आवश्यक देखिन्छ । विद्यार्थीले कक्षाकोठामा पढेको कुरालाई व्यवहारमा लागु गरेर देखाउँछ भने त्यो प्राविधिक शिक्षाको अंश हो । चाहे कृषिको कुरा होस् या सूचना प्रविधिको नै किन नहोस् । सिपमूलक शिक्षा नै प्राविधिक शिक्षाका रूपमा बुझ्ने गरिन्छ । पहुँचका दृष्टिले नेपालमा प्राविधिक शिक्षा सर्वसुलभ बन्दै गएको छ । एकातिर सामान्य आर्थिक अवस्था भएको विद्यार्थीले पनि प्राविधिक शिक्षामा पहुँच स्थापित गर्न सकिरहेका छन् भने अर्कातिर देशैभरका विकट गाउँबस्तीमा पनि प्राविधिक शिक्षालय स्थापना भइरहेका छन् । विगत पाँच वर्षदेखिको प्राविधिक शिक्षाको विस्तारको अवस्थालाई हेर्ने हो भने छोटो समयमै युगान्तकारी परिवर्तन भएको मान्न सकिन्छ । नेपालको शिक्षा क्षेत्रमा छोटो समयमै भएका यस खालका परिवर्तन नगन्य मात्रामा रहेका छन् । के हामीले गरेको यो परिवर्तनले देशलाई समृद्धिको बाटोमा हिँडाउन सक्छ त ?
प्राविधिक शिक्षाको विस्तारसँगै देशलाई चाहिने प्राविधिक जनशक्ति उत्पादनमा हामीले के कति भूमिका खेल्न सक्यौँ भन्ने महत्वपूर्ण छ । हामीले उत्पादन गरेको जनशक्तिले बजारको प्राविधिक कामदारको मागलाई सम्बोधन गर्न सके या सकेनन् भन्ने कुरा पनि आजको मूल प्रश्न हो ।
हाम्रा प्राविधिक शिक्षालयले उत्पादन गरेका जनशक्तिले देशलाई समृद्ध बनाउन योगदान दिन सक्नु पर्छ । कुनै पनि कुरा उत्पादनसँगै त्यसको उपयोगितासँग पनि जोडिएको हुन्छ । उपयोगिताबिनाको उत्पादनको कुनै अर्थ नै रहँदैन । उत्पादन गरेको कुरा प्रयोगमा आएन भने त्यसले उत्पादनका लागि गरिएको लगानी अनि स्रोतसाधन खेर जाने मात्रै काम हुन्छ । यही कुरालाई अहिले हामीले प्राविधिक शिक्षासँग जोडेर हेर्नुपर्ने देखिन्छ । यति प्राविधिक जनशक्ति उत्पादन ग¥यौँ भनेर हामी अङ्कमा मात्रै खेलेर यसको उद्देश्य पूरा हुन सक्दैन । अङ्कको सार्थकताका बारेमा वस्तुनिष्ठ ढङ्गले हामीले परिस्थितिको विश्लेषण गर्नु वैज्ञानिक हुन जान्छ । प्राविधिक जनशक्ति उत्पादनमा राज्यले गरेको लगानी र त्यसबाट उत्पादित जनशक्तिको अवस्था के कस्तो छ भन्ने बारेमा हामी गम्भीर हुनु आवश्यक छ ।
हामीकहाँ उत्पादनको तथ्याङ्कसँग मात्रै खेल्ने प्रवृत्तिले गर्दा हरेक क्षेत्रमा आशातित प्रतिफल प्राप्त हुन सकेको देखिँदैन । तथ्याङ्कलाई तथ्यसँग जोड्नु अत्यावश्यक मानिन्छ । तथ्य भन्नाले उत्पादित जनशक्तिले के गरिरहेको छ भन्ने हो । नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना गरिएको छ । यसले विभिन्न खालका प्राविधिक कार्यक्रम सञ्चालन गरिरहेको छ । २०४५ सालमा स्थापना भएको यो संस्थाले अहिले वस्ति बस्तीमा प्राविधिक शिक्षाका कार्यक्रम विस्तार गरिरहेको छ । छोटो अवधिदेखि तीनबर्से डिप्लोमा तहको कार्यक्रम सञ्चालन गरिरहेको यस संस्थाले उत्पादन गरेको जनशक्तिले बजार मागलाई पूरा गरेको छ त ? अझै पनि सिपमूलक कार्यमा सीमापारिबाट आउनेहरूको बाहुल्यता नै रहेको छ । हामीले उत्पादन गरेको जनशक्तिलाई बजारमा पु¥याउनका लागि अवश्य पनि केही कमजोरी गरेका छौँ । हामीले सिप त सिकायौँ तर त्यो सिपलाई बजारसँग जोड्ने बलियो योजना निर्माण गर्न सकेनौँ । यसले कसरी प्राविधिक शिक्षाको साख र शक्तिलाई मजबुत बनाउन सक्छ ? बजारसँग जोडिन नसक्ने प्राविधिक शिक्षाको राज्यका प्रति कुनै पनि खालको लगानी हुँदैन ।
केही समययता प्राविधिक शिक्षा अध्ययन गर्ने क्रम बिस्तारै ओरालो लागिरहेको तथ्याङ्कले देखाउँछ । विद्यार्थी सङ्ख्या निरन्तर ओरालो लागेपछि सिटिइभिटीले नै आफूले सञ्चालन गरेका आङ्गिक कलेजमा कुल भर्ना क्षमताको २५ प्रतिशत पनि विद्यार्थी भर्ना नभएको अवस्थामा कार्यक्रम नै बन्द गर्ने गरी अध्ययन समिति बनाएको थियो । यसैवर्ष लागु गर्ने गरी बनाइएको समितिको काम अझैसम्म पनि देखिएको छैन । तथापि भर्ना क्षमता भन्दा न्यून दरमा विद्यार्थी भर्ना हुनु भनेको विद्यार्थीको आकर्षण बिस्तारै हराउँदै गएको भन्ने मान्न सकिन्छ । एकातिर प्राविधिक जनशक्तिको माग बढ्दै जानु अनि अर्कातिर प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या निरन्तर ओरालो लागिरहनुले हामीले कहाँ कमजोरी गरिरहेका छौँ भन्ने बारेमा विश्लेषण गर्नुपर्ने देखिन्छ ।
प्राविधिक शिक्षामा देशको अनुहार नियाल्दा प्राविधिक शिक्षालय स्थापना भएकै छन् कमै सङ्ख्या या सीमित कार्यक्रममा मात्रै भए पनि विद्यार्थी भर्ना भएकै देखिन्छ । उत्पादित जनशक्तिको व्यवस्थापन र सिपलाई रोजगारीसँग जोड्ने विषयमा राज्य या जिम्मेवार निकायका तर्फबाट के कति काम हुन सक्यो भन्ने केलाउनै पर्ने भएको छ । प्राविधिक शिक्षा आर्जन गरेको व्यक्ति किन उद्यमशीलतासँग जोडिएको छैन ? किन सिपमूलक कार्यसँग जोडिएको छैन अहिलेको मूल प्रश्न यही हो ।
केही समय अगाडि तुलसीपुर प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउनका लागि नेपाल टेलिकम र विद्युत् प्राधिकरणमा अनुरोध ग¥यौँ । सिटिइभिटीले सम्झौता नगरेका कारणले गर्दा विद्यार्थीलाई काममा लगाउन नसक्ने भन्ने जानकारी कार्यालयबाट प्राप्त भयो । यो एउटा सामान्य घटना हो तर यहीभित्र हाम्रो प्राविधिक शिक्षाको आकर्षण कम हुनुको विशेष कारण छिपेको छ ।
प्राविधिक शिक्षालय या सिटिइभिटीले केवल विद्यार्थीलाई अध्यापन गराउने र सिप सिकाउनेमा मात्रै ध्यान दियौँ, उत्पादित जनशक्तिलाई उत्पादन, श्रम र व्यवसायसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा ध्यान दिन भने सकेका छैनौँ । सङ्ख्यामा देखिने उत्पादनले खासै तात्त्विक फरक नपार्न सक्छ तर त्यसलाई गुणात्मकतासँग जोड्न आवश्यक हुन्छ । प्राविधिक शिक्षा प्रदान गर्ने संस्थाले विद्यार्थीलाई के कसरी काममा लगाउन सकिन्छ या उद्यमी बनाउन सकिन्छ भन्ने बारेमा पनि चासो र चिन्ता व्यक्त गर्नु पर्छ । हिँड्न सिकाएर मात्रै मानिस गन्तव्यमा पुग्न सक्दैन त्यसका लागि बाटो पनि देखाउनु पर्छ । बाटो देखाउने विषयमा हाम्रा शिक्षालय र सिटिइभिटी दुवैले गम्भीर त्रुटि गरिरहेका छन् ।
प्राविधिक शिक्षालयमा अहिले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा रहेको छ । यो पनि परम्परावादी शैलीको मानसिकतामा आधारित छ । यसलाई पनि नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने देखिन्छ । विद्यार्थीले सिकेको सिपका आधारमा फन्डको व्यवस्था गरेर उद्यमशीलताको विकास गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ । मानौँ कुनै विद्यार्थीले बाली विज्ञान अध्ययन गरेको रहेछ भने एकल या सामूहिक रूपमा व्यावसायिक खेती गर्न प्रारम्भिक लगानी गर्ने, उत्पादनलाई टेवा दिने र उत्पादित वस्तुलाई बजारसम्म पु¥याउने खालको वातावरण राज्यले निर्माण गर्नु पर्छ ।
केही समययता स्टार्टअप विजनेसमा लगानी र अनुदान दिनका लागि राज्यले नीति बनाए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यस खालका कार्यक्रम सिटिइभिटी जस्ता संस्थाको मातहतबाट वितरण गर्नु पर्छ । एउटा प्राविधिक शिक्षालयबाट निस्किँदै गरेको विद्यार्थीसँग एक हातमा सिप र अर्को हातमा व्यावसायिक योजना हुनु पर्छ । हामीले सिप मात्रै सिकाउँदा त्यसलाई परिचालन गर्ने क्षमता विद्यार्थीमा नहुन सक्छ । यसर्थ सिपसँगै परिचालनको क्षमता र त्यसका लागि केही आधार पनि निर्माण गर्न सकियो भने मात्रै प्राविधिक शिक्षाले देशको मुहार झलमल बनाउन सक्छ । अन्यथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या देखाएर मात्रै हामीले सन्तुष्टिको सास फेर्न पाउँदैनौँ ।