टीकापुर समाचारदाता
टीकापुर, पुस १ गते । बन्द भएको तीन दशकपछि टीकापुर एयरपोर्टमा व्यावसायिक उडान सुचारु भएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेको छ ।
२०५० सालदेखि बन्द विमानस्थलमा व्यावसायिक उडानका लागि गत कात्तिक १२ गते नेपाल एयरलाइन्सले परीक्षण उडान गरेको थियो भने सोही दिन तारा एयर पनि टीकापुर एयरपोर्टमा अवतरण गरिएको थियो ।
नागरिक उड्डयन कार्यालय धनगढी कार्यालयका प्रमुख गणेशबहादुर सिंहले प्राधिकरणले सुदूरपश्चिममा भएका सबै विमानस्थलबाट हवाई सेवा सञ्चालन गर्न चाहेको र टीकापुरबाट पहिलो दिन दुईतर्फी उडान भएको बताउनुभयो ।
सिंहका अनुसार आइतबार र बिहीबार गरी टीकापुरमा साता दुई फ्लाइट हुने छन् ।
आइतबार पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितका १४ जना टीकापुर एयरपोर्टमा अवतरण गर्नुभयो । फर्कंदा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूसहित १५ जना यात्री काठमाडौँका पुग्नुभयो ।
२०४५ सालसम्म पटक पटक टीकापुरबाट धनगढी, नेपालगन्ज–काठमाडौँको यात्रा गर्नुभएकी ७२ वर्षीय लक्ष्मीदेवी उपाध्यायले टीकापुरमा ३५ वर्षपछि जहाज आएपछि पहिलो फ्लाइटमै काठमाडौँ जान लागेको बताउनुभयो । टीकापुरबाट अछामको साँफेबगर, जुम्ला, काठमाडौँ, धनगढी, नेपालगन्जमा हवाई उडान हुने गरेको थियो ।
विमानस्थल कार्यालयका अनुसार तारा एयरको सानो जहाजबाट नेपालगन्ज–टीकापुर उडान हुने छ भने नेपालगन्जबाट काठमाडौँ यती एयरलाइन्सले पु¥याउने छ । टीकापुरदेखि काठमाडौँको भाडा नौ हजार तोकिएको छ । कम्तीमा १५ सिटको बुक नभएमा बाँकी रकम टीकापुर नगरपालिकाले शोधभर्ना गरिदिने सम्झौता भएको छ ।