• ३० मंसिर २०८१, आइतबार

'रासायनिक मलको प्रयोगले सिमसार क्षेत्रमा पनि असर'

blog

सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा सम्पन्न भएको संवादमा सरोकारवालाहरु तथा अथितिहरु । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर ३० गते । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा रसायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम गरिएको छ ।

सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजना तथा कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीको समन्वयमा सम्पन्न भएको संवादमा सरोकारवालाहरुले खेतमा प्रयोग गरेको रसायनिक मलको असर माटो, पानी, सिमसार, वन्यजन्तु, जैविक वातावरणमा समेत परेको चर्चा गरेका छन् ।

सुनसरीको खेतीयोग्य जमिनमा बढी उत्पादन गर्ने उद्देश्यका साथ अत्यधिक रसायनिक मल, युरिया, डिएपी, पोटास लगायतको प्रयोगले त्यसको असर माटो, पानी, सिमसार, वन्यजन्तु, जैविक वातावरणमा समेत परेको संरक्षणकर्मी रविन घिमिरेले चर्चा गर्नुभयो । सुनसरीको मध्यवर्ती क्षेत्रमा पनि विगत दुई दशकदेखि रसायनिक मलको अत्यधिक प्रयोगले विगतमा खेतमा देखिने गंगटा, भ्यागुतो, घोंगी, मैना, बकुला र विभिन्न चराहरु अहिले लोपोन्मुख अवस्थामा पुगेको अर्का सहभागी देवीप्रसाद चौलागाईले बताउनुभयो।

कोशी क्षेत्रमा बढ्दो रासायनिक मलको प्रयोगले खेतमा मात्रै नभई सिमसार क्षेत्रमा समेत असर देखिन थालेको माछा पालक किसान भीष्म अधिकारीले गुनासो गर्नुभएको छ ।

स्थानीय राजकुमार शर्माले रसायनिक मल र विषादीको अत्यधिक प्रयोगले गंगटा, भ्यागुतो, घोंगी, मैना , बकुला र विभिन्न चराहरु लोपोन्मुख अवस्थामा पुगेको मात्रै नभई मानव स्वास्थ्यमा पनि असर पारेको बताउनुभयो । 

सहभागीहरुले नाइट्रोजन प्रदूषण समाधानका उपायहरुमा व्यक्ति स्वयं , नागरिक समाज, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएको थियो। कार्यक्रममा आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले सबै बालीको मल सोश्ने क्षमता नहुने भएकोले रसायनीक मल घातक रहेको बताउनुभयो । उहाँले रासायनिक मलको प्रदूषण वारे जनचेतना अभिवृद्धि गर्नुपर्ने, मलको प्रदूषण नियन्त्रणसम्वन्धी प्रभावकारी कार्यक्रम बनाई लागू गर्नुपर्ने र रासायनिक मलबाट नाइट्रोजनको नोक्सान कम गर्न अनुसन्धानमा लगानी गर्नुपर्ने बताउनुभयो ।

चौधरीले सन् २०३० सम्ममा नाइट्रोजन प्रदूषणलाई आधा गर्ने कोलम्बो घोषणापत्र लागू गर्नुपर्ने, (नेपाल समेत ३० देशले घोषणा–पत्रमा साइन गरेको)ले कार्यान्वयन गर्नुपर्ने, प्राङ्गारिक मलको प्रवर्धन गर्नुपर्नेे, नाइट्रोजन स्रोतहरू पहिचान गर्न, रिपोर्टिङ र डेटा सङ्कलन क्षमता सुधार गरेर, पानीमा मिश्रित नाइट्रेट शुद्धीकरण गर्ने यन्त्र जडान गरेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

मानवअधिकार समुहका अध्यक्ष राजकुमार शर्माले निजी क्षेत्रबाट रासायनिक मलको प्रयोगलाई चरणबद्ध रुपमा कम पशुधनको फोहोरलाई जैविक मलको रूपमा प्रयोग गरेर रसायनिक मल घटाउन सकिने बताउनुभयो । 

शर्माले कृषि बाली सङ्कलनपछि दलहन बाली लगाउनुपर्ने बताउनुभयो । संरक्षणकर्मीहरुका अनुसार युएनईपी २०२३ को तथ्याङ्कले प्रदूषित हावाले मुटुको, श्वासनलीको क्यान्सर र आँखासम्बन्धी रोग निम्त्याउने र विश्वमा हरेक वर्ष वायु प्रदूषणवाट ८० लाख मानिस मर्ने गरेको तथ्याङ्क छ ।