नेपालको इतिहासमा अत्यन्तै प्रभावशाली व्यक्तिका रूपमा स्थापित पहिलो राणा प्रधानमन्त्री थिए, जङ्गबहादुर राणा । उनका नाममा दर्जनौँ पुस्तक कोरिएका छन् । आफू प्रधानमन्त्री रहँदा उनले बेलायतबाट इतिहासकार ल्याएर आफ्नो इतिहास त लेखाए तर सन्ततिको इतिहास लेख्न सकेनन् । कारण १९३३ सालमा पत्थरघट्टामा यिनको अवसानपछि राणा शासन पारिवारिक कलह, आपसी मतभेद र रक्तपातपूर्ण षड्यन्त्रको परिचायक बन्यो ।
१९४२ सालमा तत्कालीन प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यापश्चात् जङ्गबहादुर राणाका सन्तानको रोलक्रम काटियो । कोही मारिए, कोही धपाइए त कोही ज्यान बचाउन भारत निर्वासित भए । १९४२ सालपछि करिब ६५ वर्षको राणा शासनमा देशको शासन सत्ताको बागडोर सधैँका लागि शमशेर खलकको हातमा गयो । जङ्ग खलकहरू पलायन भए । भनिन्थ्यो जसको हातमा तरबार, उसको नाममा दरबार । दरबारले पनि बलियो मियो भएका तरबार रोजे । तरबार खेलाउन सिल्प भएका तरबारधारीहरू रोजे ।
इतिहास नियाल्दा १९०३ को कोतपर्वपश्चात् नेपालको इतिहासमा एक शक्तिशाली निरङ्कुश व्यक्तिको उदय भयो । जसले लामो समयसम्म जारी दरबारिया किचलोको अन्त्य गर्दै मुलुकको राजनीतिक तथा प्रशासनिक बागडोर आफ्नो हातमा लिँदै एकतन्त्रीय राणा शासनको सूत्रपात ग¥यो । उनले तत्कालीन राजा सुरेन्द्रवीरविक्रम शाहद्वारा प्रदत्त पन्जापत्रका आधारमा आफ्नो नामको पछाडि राणा लेखाए र श्री ३ महाराजको उपाधि ग्रहण गरे । उनले शासनको बागडोरको आफूपश्चात् रोलक्रम क्रमशः भाइहरूमा सर्ने पद्धतिको सुरुवात गरे, जसले उनको आफ्नै सन्ततिको अवसान गरायो ।
जङ्गबहादुरको मृत्युपछि भाइ रणोद्वीप सिंह नेपालका प्रधानमन्त्री त बने तर भाइ धीरशमशेरका छोराहरू र दाइ जङ्गबहादुरका छोराबिच रोलक्रमका विषयमा उब्जेको कलह र मतभेदलाई शान्त पार्न सकेनन् । बरु उनीहरू बिचको खाडल दिन प्रतिदिन फराकिलो हुँदै गयो । भित्रभित्रै सत्ता हत्याउने षड्यन्त्र दुवै समूहतर्फबाट बुनिन थालियो । धीरशमशेरका छोराहरूले काका रणोद्वीप सिंह जङ्गबहादुर राणाका छोरापट्टि रहेको महसुस गरे र १९४२ सालमा प्रधानमन्त्री रणोद्वीप सिंहलाई उनकै निवासमा गई हत्या गरेर शासन सत्ता हत्याए, फलस्वरूप रोलक्रमले जेठा वीरशमशेर नेपालको प्रधानमन्त्री बने । यो घटनापश्चात् जङ्ग परिवारको बिल्लीबाँठ भयो । छोरा जगतजङ्ग र उनका छोरा युद्धप्रताप (नाति जर्नल) मारिए । अन्य सन्तान कोही रातारात उपत्यकाबाट भाग्न सफल भए । कोही ब्रिटिस रेजिडेन्सीको शरणमा पुगेर बाँचे । कोही अन्यत्र लुकेर जोगिए । त्यसमध्ये कोही दुरदेश अर्थात् दुर्गम पहाडी स्थान र तराईतर्फ लागे । कोही सधैँका लागि भारत निर्वासित भए ।
जङ्गबहादुर राणाको शासनकाल, १९४२ सालको हत्याकाण्ड तथा तत्पश्चात्का घटनाका बारेमा विभिन्न विद्वान् तथा इतिहासकारले विस्तृत वर्णन गरे पनि जङ्गबहादुर राणाका सन्ततिको पछिल्लो अवस्थाका बारेमा खासै लेखिएको पाइँदैन । जङ्गबहादुर राणाका छोरा जगतजङ्ग र जेठा नाति युद्धप्रताप हत्याका बारे उल्लेख भए पनि अन्य भाइहरू र उनीहरूको सन्तानका बारेमा खासै जानकारी उपलब्ध छैनन् । धीरशमशेरका छोराहरूले सत्ता हत्याएपछि जङ्गबहादुर राणाका छोराहरू एकत्रित भई धीरशमशेरका पुत्रहरूसँग बदला लिने अभियानका बारेमा इतिहासकारले केही थोरै लेखिए पनि समष्टिगत रूपमा खासै लेखिएको पाइँदैन । सुशीलजङ्ग बहादुर राणाद्वारा लिखित पुस्तक ‘जर्नेल जुद्ध जङ्ग र उहा“का सन्ततिहरू’ का अनुसार तत्कालीन प्रधानमन्त्री रणोद्वीपसिंह राणाको हत्याकाण्डपछि जङ्गबहादुर राणाका प्रायः छोराहरू रणवीरजङ्ग, पद्मजङ्ग आदि ब्रिटिस रेजिडेन्सीको शरणमा गएका, अर्का छोरा जितजङ्ग, हर्कजङ्ग र जुद्धजङ्ग भारततर्फ प्रवासमा गएका थिए । पछि पद्मजङ्गसमेत भारततर्फ लागेका र उनीलगायत जितजङ्गसमेत प्रवासमा रही नेपाल फर्किएनन् । जुद्धजङ्ग सानामा छ“दा चन्द्रशमशेरका साथी भएकाले र सँगै खाइखेली हुर्किएकाले चन्द्रशमशेर प्रधानमन्त्री भएपछि जुद्धजङ्गप्रति निगाह गरी नेपालगन्जको पुरैनी भन्ने स्थानमा बित्र्ता जग्गा उपलब्ध गराई बस्ने बन्दोबस्त गरिदिएका थिए । पद्मजङ्गद्वारा भारत प्रवासमा रहँदा लेखिएको पुस्तक ‘महाराजा सर जङ्गबहादुर अफ नेपाल’ मा जङ्गबहादुर राणाको मृत्युपश्चात् जङ्ग परिवारप्रति उब्जिएको असहज परिस्थिति र ४२ को घटनापश्तात् उनका सन्ततिले भोग्नु परेको मार्मिक घटना र सङ्घर्षका कथा उल्लेख गरेको पाइन्छ । बुद्धिलाल भण्डारीद्वारा लिखित पुस्तक ‘जङ्गबहादुर क“ुवर जीवनवृत्त’ मा युद्ध प्रतापजङ्ग विवाहित भएकोले उनको परिवारलाई दरबारका सेवक वीरसिंह तामाङले सकुशल उद्धार गरी रातारात भगाएर सिन्धुलीको झा“गाझोलीस्थित युद्ध प्रतापजङ्गको मावलीघर पुराई त्यहीँ खानेबस्ने व्यवस्था मिलाएको उल्लेख गरेका छन् ।
इतिहास र जङ्गबहादुर राणासम्बन्धी लेखिएका पुस्तकहरूका अनुसार यिनका पत्नीहरूमा प्रसाद लक्ष्मी, नन्दकुमारी, विष्णुकुमारी, सिद्धगजेन्द्रलक्ष्मी, हिरण्यगर्भकुमारी, शान्ताकुमारी, हेमकुमारी, पुतली, मीना, मिश्री आदि रहेको बताइन्छ । सुशीलजङ्ग बहादुर राणाद्वारा लिखित पुस्तकका अनुसार जङ्गबहादुर राणाका जम्मा १४ वटा छोरा थिए । जसमा भीमजङ्ग, जगतजङ्ग, जितजङ्ग, बबरजङ्ग, रणजङ्ग, नरजङ्ग, रणवीरजङ्ग, पद्मजङ्ग, डम्बरजङ्ग, जुद्धजङ्ग, ललितजङ्ग, हर्षजङ्ग, मानजङ्ग र वीरजङ्ग थिए । केही ऐतिहासिक पुस्तकमा जङ्गबहादुर राणाका जेठा सुपुत्र जगतजङ्ग बताइए पनि जेठा छोरा भीमजङ्ग र माइला छोरा जगतजङ्ग थिए । जङ्गबहादुर राणा जीवित छँदै भीमजङ्गको मृत्यु भएको र जगतजङ्ग जेठाको रोलक्रममा परेकाले यसो लेखिएको हुन सक्छ । कुनै पुस्तकमा भीमजङ्ग जीवितै छ“दा रोलक्रममै नराखिएको समेत लेखिएको छ । पुत्रका हिसाबले जगतजङ्गकै बढी चर्चा गरिएको मुख्य कारण उनको विवाह राजा सुरेन्द्रको जेठी छोरी टीका राज्यक्ष्मीसँग भएको थियो । यस कारण उनी दरबार र शक्तिका केन्द्रमा थिए । हुन त अर्को पुत्र जितजङ्गको विवाह पनि राजा सुरेन्द्रको माइली छोरी नरेन्द्र राज्यलक्ष्मीसँग भएको थियो । त्यसैले जङ्गबहादुर राणाका पुत्रहरूको चर्चामा जगतजङ्गपछि जितजङ्ग पर्छन् । भीमजङ्ग चाहिँ जङ्गबहादुर राणाको पहिलो पत्नी प्रसाद लक्ष्मीको पुत्र थिए । जगतजङ्ग र जितजङ्ग दुवै माइली पत्नी नन्दकुमारीको पुत्र थिए । त्यसै गरी पद्मजङ्ग विष्णुकुमारीका पुत्र, रणवीरजङ्ग सिद्धगजेन्द्रलक्ष्मीका पुत्र, डम्बरजङ्ग मीना (दाख चोके) का पुत्र, नरजङ्ग हेमकुमारीका पुत्र र बबरजङ्ग पुतलीरानीका पुत्र, जुद्धजङ्ग शान्ताकुमारीका पुत्र थिए ।
जङ्गबहादुर राणाका सन्ततिका सम्बन्धमा छोराका तुलनामा छोरीहरूको त्यति विवरण लेखिएको भेटिँदैन । छोरीहरू मध्ये तारा राज्यलक्ष्मी, सोम गर्भ दिव्यश्वरी र ललित राज्यलक्ष्मीको विवाह राजदरबारमा युवराज त्रैलोक्यसँग भएको थियो । यस अर्थमा युवराज त्रैलोक्यका जेठी पत्नी तारा राज्यलक्ष्मी, माइली सोम गर्भ दिव्यश्वरी र कान्छी ललित राज्यलक्ष्मी थिए । ललित राज्यलक्ष्मी राजा पृथ्वीवीरविक्रमकी आमा थिइन् । युवराज त्रैलोक्यको असामयिक निधन भएपछि नाबालक पृथ्वी वीरविक्रमको नायवीमा यिनले सत्ताको मुखिया बन्ने अवसर पाइन् । अर्की छोरी दीप राज्यलक्ष्मीको विवाह राजा सुरेन्द्रका कान्छा छोरा धीरेन्द्र विक्रमसँग भएको पाइन्छ । उनको अन्य पुत्रीहरूमा वदनकुमारी र खड्ककुमारीमध्ये खड्ककुमारीको विवाहसमेत धीरेन्द्र विक्रमसँगै भएको पाइन्छ । केही पुस्तकमा उनका दुई छोरीको विवाह बझाङ र जाजरकोटको राजासँग भएको उल्लेख गरिएको छ । जङ्गबहादुर राणाले छोरा भए जर्नेल, छोरी भए दरबार भन्ने रित बसालेको प्रस्ट देखिन्छ । जङ्गबहादुर राणाका सबै छोरा प्रायः जर्नेल थिए । डायमनशमशेर राणाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सेतो बाघ’ मा जङ्गबहादुर राणाका छोरा जगतजङ्ग र राजा सुरेन्द्रको जेठी छोरी टीका राज्यलक्ष्मीको शुभविवाह युवा अवस्थामा भएको जनाइए पनि इतिहासका पुस्तकका आधारमा उनीहरूको बालविवाह भएको थियो । विवाह ह“ुदा जगतजङ्ग सात वर्षका थिए र टीका राज्यलक्ष्मी छ वर्षकी थिइन् ।
१९३८ साल पर्वपश्चात जगतजङ्ग र पद्मजङ्गको पद र रोलक्रम खोसियो । दुवै जना भारत निर्वासनमा रहे । पछि राजदरबारका शक्तिकेन्द्र महारानी ललितराज्यलक्ष्मीको अनुग्रहमा जगतजङ्ग र पद्मजङ्ग नेपाल फर्कन सफल भए । जङ्ग खलक र शमशेर खलकबिचको सम्बन्धमा षड्यन्त्रका बोटहरू उम्रन थाले । शङ्काका काला बादल मडारिन थाले । फलस्वरूप १९४२ साल पर्वको सूत्रपात भयो । प्रमोदशमशेर राणाद्वारा लिखित पुस्तक ‘राणा शासनको वृत्तान्त’ का अनुसार जङ्गबहादुर राणाको छोरी एवं युवराज त्रैलोक्यका जेठी श्रीमती तारा राज्यलक्ष्मीसमेत ४२ सालको पर्वमा सिकार भएकी थिइन् । उनी आफ्नी नाबालक छोरीसहित ब्रिटिस रेजिडेन्सीको शरणमा गइन् । उनी जङ्ग परिवारको समर्थनमा थिइन् । कान्छी पत्नी महारानी ललितराज्यलक्ष्मी जङ्गबहादुर राणाको पुत्री भए पनि शमशेर खलकको कित्तामा थिइन् । ब्रिटिस रेजिडेन्सी हुँदै तारा राज्यलक्ष्मी भारत निर्वासनमा गइन् र दुई वर्षको भारत बसाइसँगै कोलकाताबाट ब्रिटिस भारत सरकारलाई निवेदनपत्र पठाई आफू नेपालमा सुरक्षित नरहेर भारत बस्नु परेकोले आफ्नो सम्पत्ति सकुशल नेपालबाट झिकाउन र भरणपोषणमा सहयोग गरिदिन याचना गरेकी थिइन् ।
ब्रिटिस भारत सरकारका तर्फबाट जिके एरविनले नेपालको प्रधानमन्त्री वीरशमशेरलाई सोबारे लेखी पठाएकोले त्यहा“बाट आवश्यक सहयोग उपलब्ध हुने जनाएका थिए । यसबाट दरबारभित्रको शक्तिको खिचातानीमा ३८ र ४२ साल पर्व जोडिएको प्रस्ट देखिन्छ । सुशीलजङ्ग÷बहादुर राणाद्वारा लिखित पुस्तकका अनुसार उक्त घटनापश्चात् पद्मजङ्ग, जुद्धजङ्ग र रणवीरजङ्ग भारतको इलाहावाद बसी सबै जङ्ग पुत्रलाई पुनः एकताबद्ध गरी धीरशमशेरका पुत्रहरूलाई परास्त गर्ने अभियान चलाए पनि वीरशमशेरको अङ्ग्रेज सरकारसँगको राम्रो सम्बन्धले गर्दा सफल हुन सकेन तर चन्द्रशमशेर प्रधानमन्त्री भएपछि जङ्ग पुत्रहरूसँग मेलमिलापको प्रस्ताव अघि सारे तर सो प्रस्तावलाई सबै जङ्ग पुत्रहरूले समान रूपबाट ग्रहण गरेनन् । त्यस बेलासम्म केही जङ्ग पुत्रहरूको मृत्यु भइसकेको थियो । जितजङ्ग, पद्मजङ्ग र रणवीरजङ्ग भारत निर्वासनमै इलाहावाद बसे तर उनीहरूका केही सन्तान नेपाल फर्के । जुद्धजङ्ग बेतिया, कोलकाता हुँदै इलाहावादमा आएर बसे, उनको इलाहावादको बसाइ राम्रो नभएकाले चन्द्रशमशेरले राखेको प्रस्ताव स्वीकार गरी परिवारसहित नेपाल फर्केका थिए ।
जङ्गबहादुर राणाको सबै सन्ततिको पालनपोषण उनको निजी निवास थापाथली दरबारमा भएको थियो । उनीहरूको शिक्षाका लागि दरबारभित्रै अनौपचारिक रूपमा पाठशाला सञ्चालन गरिएको थियो । शिक्षक भारतबाट झिकाइएका थिए । त्यही अनौपचारिक पाठशालापछि दरबार स्कुलमा रूपान्तरण भएको थियो । स्वास्थ्य उपचारका लागि थापाथली दरबारभित्रै वैद्यखानाको व्यवस्था थियो । त्यसबेला निलो बागमतीको नजिक उभिएको थापाथली दरबार अत्यन्तै लोभलाग्दो थियो । जङ्गबहादुर राणा बेलायतबाट फर्केपछि दरबारलाई ‘नियो क्लासिकल डिजाइन’ मा पुनर्संरचना गरेका थिए । दरबारको वरिपरि सुन्दर बगैँचा र मन्दिर तथा देवलहरू निर्माण गरिए । यस अर्थमा जङ्गबहादुर राणाका सन्ततिहरूको लालनपोषण र जीवनशैली त्यसबेलाको दरबारका राजकुमार राजकुमारीसरह थियो । ४२ को पर्व ताका जङ्गबहादुर राणाका सन्ततिहरूले जे जति चल सम्पत्ति लिएर भाग्न सफल भए तीबाहेक सबै चलअचल सम्पत्तिको मालिक शमशेर खलक भए । थापाथली दरबारसमेत उनीहरूको अधीनमा रह्यो । २००७ सालको राणा शासनको पतनपछि सबै राणा परिवारका निजी दरबारहरू नेपाल सरकारको अधीनमा गएको थियो ।